लोप हुँदै बालन नाच

लोप हुँदै बालन नाच

केन्द्रबिन्दु
0
Shares

उदयपुर ।

उदयपुरको मध्य तथा पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्दै आएका ब्राह्मण तथा क्षेत्रीले विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, व्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको सांस्कृतिक बालन नाच हिजोआज लोप हुँदै गएको छ । केही वर्षअघिसम्म जिल्लाको पहाडी क्षेत्रलगायत क्षेत्री ब्राह्मण बसोबास गरेका गाउँमा विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वसहित विवाह, व्रतबन्धका समयमा भेला भएर बालन नाच प्रदर्शन हुने गरेको भएपनि हिजोआज यो नाचको प्रचलन नै हराउन थालेको हो । यस नाचको संरक्षण अभावको कारण यो नाच सङ्कटमा परेको हो ।

अहिलेका युवा पुस्ता बाह्य गीत, सङ्गीत र संस्कृतिमा रमाउन थाल्नु र बालन नाचको संरक्षणमा उचित ध्यान नदिँदा यस नाच सङ्कटमा परेर लोप हुने अवस्थामा रहेकामा जिल्लाका पहाडी क्षेत्रका बूढापाका भने निकै चिन्तित बन्न थालेका छन् । रौतामाई गाउँपालिका–१ मुर्कुचीका कृष्णराज खड्का भन्छन्, “हिजो आफूहरुको पालामा पुर्खाले परम्परागतरुपमा प्रस्तुत गर्दै आएका बालन नाचलाई निरन्तरता दिएर बचाउँदै आयौँ तर हिजोआज आफूहरु पनि बूढापाको भइयो, युवा पुस्ताले बालन नाच चटक्कै भुले ।” उनी सामाजिक प्रचलन, ऐतिहासिक घटनाक्रम र सांस्कृतिक पक्षलाई लयात्मक ढङ्गमा नाचिने यस नाचको संरक्षण गर्नुपर्ने खाँचो औँल्याउँछन् ।

हिजो पुर्खाको पालादेखि प्रचलनमा रहेको प्रख्यात बालन नृत्य हिजोआज दिनानुदिन लोप हुन थालेर यसको अस्तित्व नै सङ्कटमा परेकामा उदयपुरगढी गाउँपालिका नेपालटारका सोमप्रसाद खतिवडा पनि निकै दुखेसो व्यक्त गर्छन् । उनी भन्छन्, “आफूहरुको पालामा गाउँघरमा सत्यनारायणको पूजा लगाउँदा होस् या विवाह, पास्नी, ब्रतबन्ध, मङ्सिरे पूर्णिमा, ठूला एकादशी, रामनवमीजस्ता पर्वमा रात्रिको समयमा बालन नृत्य गर्ने गरेका थियौँ, यस्तो कार्यले हिजो पुर्खाको पालादेखि निरन्तर अनुशरण गर्दै आएको यो सांस्कृतिक नाच हामीहरुले पनि बचाउँदै आएका थियौँ ।”

हिजोआज यस्ता पर्वमा डिस्को नृत्य हुन्छ, हिन्दी अङ्ग्रेजी गीत गुन्जन्छन्, अहिलेका पुस्ता यसैमा रमाउँदा परम्परागत बालन नाच लोप हुँदै गएको खतिवडा बताउँछन् । रौतामाई–२ भुटार नौलेका ७२ वर्षीय भीमबहादुर कार्कीका अनुसार उदयपुरको क्षेत्री, ब्राह्मण बसोबास गर्दै आएका रुपाटार, भुटार, हर्देनी, बाहुनीटार, पञ्चावती, सिरीसे, मयङ्खु, बराह, ठानागाउँ, रुपाटारसहितका बाक्लो क्षेत्रमा केही वर्षअघिसम्म पनि विभिन्न तिथि, पर्वमा बालन नाच आयोजना हुने गरेको थियो ।

बालन नाच जिल्लाको पहाडी क्षेत्रको कुनै पनि गाउँघरमा विभिन्न चाडपर्व तिथि मितिमा देख्न र सुन्न पनि पाउन छाडिएको कार्कीको गुनासो छ । विगतमा बालन नृत्य गर्दा धार्मिक ग्रन्थ रामायणको घटनामा आधारित भएर रामायणकै घटनाका कथावस्तुलाई गीत बनाएर पुरुषको समूहले संयुक्तरुपमा गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको उनी स्मरण गर्छन् । अन्य गीत र नृत्यको तुलनामा बालन नृत्यको रौनक नै अर्कै हुने गरेको लिम्चुङबुङ गाउँपालिका–२ बराहका ७६ वर्षीय देवीबहादुर बस्नेतले बताए । हिजोआज हिन्दी तथा पाश्चात्य संस्कृतिको प्रभावका कारण आफूहरुको मौलिक परम्परामा आधारित बालन नृत्यको प्रचलन नै हराउँदै गएपछि अब यो नाच संरक्षणको अभावमा सङ्कटमा परेको उनको धारणा छ ।

त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका सहप्रध्यापक टीकाप्रसाद पौडेल भन्छन्, “बालन नाच हिजो हाम्रा बाजे पुर्खाले हरेक चाडपर्व तथा सांस्कृतिक कार्यमा अनिवार्यरुपमा नृत्य गर्ने गरेर यसको संरक्षण गरे, तर अहिलेका पिँढीको उपेक्षाका कारण सङ्कटमा पर्न थालेको छ ।”

अर्का प्रा डा कैलाशकुमार राईका बालन नृत्य लोप हुन र सङ्कटमा पर्नबाट बचाउन नयाँ पिँढीका युवालाई बालन नृत्यसम्बन्धी प्रशिक्षण दिनुपर्नेमा जोड दिन्छन् । हरेक चाडपर्वमा बालन नृत्य अनिवार्यरुपमा प्रस्तुत गर्ने हो भने हाम्रो मौलिक संस्कार र संस्कृतिको संरक्षण हुने उनको धारणा छ ।

यसको संरक्षण र सम्बद्र्धनका लागि अनिवार्यरुपमा अबका युवा पिँढीले हरेक धार्मिक संस्कृतिक चाडपर्वमा बालन नाच प्रस्तुत गर्नुपर्ने र गाउँगाउँमा यो नाचको प्रशिक्षण हुनपर्नेसमेत सरोकारवालाको धारणा छ । रासस

Skip This
Skip This
Logo