काठमाडौं ।
काठमाडौंको टोखा नगरपालिका–२ पञ्चेटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको र दुवै मोटरसाइकल चालक रहेको बताइएको छ ।
बिहान ५ बजे बा ८५ प ५६६ र बा ९१ प ११८८ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएको र उनीहरुमध्ये सामान्यको यहाँस्थित ग्रिनसिटी अस्पताल र केही गम्भीर रहेकाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गोली लागेको अवस्थामा प्रहरी मृत फेला
काठमाडौँको हल्चोकस्थित प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृत फेला परेका छन् । राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका उनी बिहान मृत फेला परेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनको कच्चटमा गोली लागेको पाइएको छ ।
उनका अनुसार आज बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा कोठामा चुकुल लगाइएको थियो । ढोका फोरेर हेर्दा कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेको उनले जानकारी दिए । कार्कीले आफ्नै पेस्तोलले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।रासस































प्रतिक्रिया