काठमाडौं ।
कोरोना भाइरसले २५ प्रतिशत वैदेशिक रोजगारी गुम्ने नेपाल वैदेशिक रोजगार व्यावसायी संघले सोमबार प्रतिवेदन सार्वजनिक गरेको छ। संघले कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरी नेपाल फर्काउनु पर्ने श्रमिकको संख्या करिब २० देखि २५ प्रतिशत रहेको जनाएको छ। भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ६ लाख नेपाली श्रमिक नेपाल फर्काउनु पर्ने संघले जनाएको हो।
दुई वर्षे करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्कने श्रमिकको संख्या करिब ६० प्रतिशत छ । कोरोनाका कारण संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियामा धेरै कामदारले रोजगारी गुमाएका छन्। संघको प्रतिवेदन अनुसार ती देशमा ३०, ३० प्रतिशतले रोजगारी गुमाउन वाध्य भएका छन् । यूएईमा चार लाख र मलेसियामा पाँच लाख श्रमिक कार्यरत छन् ।
कतार र साउदीमा २०, २० प्रतिशतले रोजगारी गुमाउने संघले प्रतिवेदन सार्वजनिक गरेको छ । कतारमा चार लाख २५ हजार, साउदीमा तीन लाख ८० हजार श्रमिक कार्यरत छन् ।
संघका अनुसार कुवेतमा १५, बहराइनमा १२, ओमनमा १० प्रतिशतले रोजगारी गुमाउन वाध्य भएको प्रतिवेदनमा उल्लेख छ। कुवेतमा ८० हजार, बहराइनमा ३५ हजार र ओमनमा १७ हजार पाँच सय जना नेपाली कामदार कार्यरत छन्।
वैदेशिक रोजगारीमा गएकामध्ये झण्डै ७५ प्रतिशत नेपाली अदक्ष कामदारको रूपमा छन्। कोभिड १९ ले कम्पनी, उद्योग, कल कारखाना, व्यापारिक प्रतिष्ठान, हाटेल–रेस्टुरेन्ट बन्द हुँदा यिनै कामदार सबैभन्दा बढी प्रभावित हुने प्रतिवेदनमा जनाइएको छ। त्यस्तै भिसा अवधि समाप्त भए पनि विदेशमा बसी काम गरिरहेका, गैरकानुनी रूपमा विदेश गएका वा कागजातविहीन थुप्रै नेपाली कामदारलाई नेपाल फर्काउनु पर्नेछ।अन्नपूर्णबाट





























प्रतिक्रिया