काठमाडौं ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको नाफा घटेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा झण्डै १ प्रतिशतले नाफा घटाएका हुन् । यस अवधीमा २७ वाणिज्य बैंकले ४५ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन् । गत वर्षको तेस्रो त्रैमासमा बैकहरुको नाफा ४५ अर्ब ६६ करोड रुपैयाँ थियो । त्यो नाफा १५ प्रतिशतको वृद्धि हो ।
लकडाउन भएपनि अन्य क्षेत्रको तुलनामा कम कम क्षति भोगेको बैंकिङ क्षेत्रले नाफामा क्षति बेहोरेको छ । नेपाल राष्ट्र बैंकको अध्ययनले पनि कोरोनाले वित्तीय क्षेत्रमा खासै ठूलो असर नपर्ने बताएको थियो । तर बैंकले नाफामा क्षति बेहोर्नु पर्यो । लकडाउनका कारण नयाँ कर्जामा संकुचन आएको छ । कर्जामा संकुचन आएकै कारण नाफामा कमी आएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । थोरै नाफा घट्दैमा आत्तिइ हाल्नु पर्ने अवस्था नभएको प्रवक्ता भट्टको भनाइ छ ।
बैंकहरूको तेस्रो त्रैमासमा बैंकहरुको नाफा घटेपनि नविल र राष्ट्रिय वाणिज्य बैंकहरुले ३ अर्ब भन्दा बढी नाफा कमाएका छन् । तर गत वर्षको सोही अवधिको तुलनामा भने यी बैंकको नाफा पनि घटेको छ । त्यस्तै ९ वटा वाणिज्य बैंकहरुले २ अर्बभन्दा बढी नाफा कमाएका छन् । २ अर्ब भन्दा बढी नाफा कमाउने बैंकहरुमा ग्लोबल आईएमई, एनआईसी एसिया, कृषि विकास बैंक, हिमालय बैंक, प्राइम बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक एभरेस्ट रहेका छन् । बैंकहरुले तेस्रो त्रैमासमा औसतमा १६.७१ प्रतिशत निक्षेप बढेको छ भने १६.४७ प्रतिशतले कर्जा बढेको छ ।
कोरोना भाइरसका कारण बैंकहरुको नाफामा कमी आएपनि निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर (स्प्रेड दर) भने बढाएका छन् । कुल २७ वाणिज्य बैंकमध्ये तेस्रो त्रैमासमा १३ वटा वाणिज्य बैंकको स्प्रेड दर ५ प्रतिशतभन्दा बढी छ । राष्ट्र बैंकको निर्देशन अनुसार स्प्रेड दर ४.५० प्रतिशत भन्दा बढी पुर्याउन पाइँदैन । बैंकहरुको नाफामा कमी आएपनि राष्ट्र बैंकले बैंकहलाई पनि विभिन्न प्रकारका सहुलियत प्याकेज ल्याएको छ ।





























प्रतिक्रिया