आजदेखि लकडाउन थप कडा, यसअघि जारी गरिएको सबै पास रद्द (भिडियो)

आजदेखि लकडाउन थप कडा, यसअघि जारी गरिएको सबै पास रद्द (भिडियो)

केन्द्रबिन्दु
0
Shares

गत २६ गतेदेखि केही खुकुलो पारिएको लकडाउन आज (बिहिवार) देखि थप कडा गरिएको छ ।

यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्काे जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै आवतजावतमा कडाइ गरिएको  गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक जिल्लाबाट अर्काे जिल्लामा मानिसहरुको अनावश्यक प्रवेश भएको र उपत्यकामा समेत भीडभाड बढेको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए ।

काठमाडौँ उपत्यकाको तीन जिल्लाका लागि भने उक्त नियम लागू हुनेछैन । यद्यपि कुनै जिल्लामा जानैपर्ने अवस्था आएमा जुन जिल्लामा जानुपर्ने हो त्यही जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य गरिएको छ । काठमाडौँ उपत्यका आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति आवश्यक पर्नेछ ।

यस्तै सरकारले सञ्चालनको अनुमति दिएका सवारीको हकमा अहिले परिचयपत्र देखाएर जाने गरिएकामा अब भने नियामक निकायबाट जारी हुने पास अनिवार्य गर्न लागिएको छ । पासको दुरुपयोग भएको र पास नभएकाहरु समेत जथाभावी निस्कने गरेकाले उक्त व्यवस्था लागू गर्न लागिएको हो ।

मुलुकमा पछिल्लो समयमा बढी मात्रामा सङ्क्रमित व्यक्ति पहिचान हुन थालेपछि मानिसको आवतजावतमा कडाइ गर्नुपर्ने आवश्यकताका कारण उक्त निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ । अन्तर जिल्लाका लागि अहिलेसम्म बाँडिएका त्यस्ता पास रद्द गर्ने निर्णय पनि भएको जनाइएको छ ।

लकडाउन थपिएको अवस्थामा जेठ ५ गतेबाट भने सबै पास रद्द गरेर नयाँ पासको व्यवस्था गर्ने समेत बैठकको निष्कर्ष रहेको जनाइएको छ । यद्यपि यसअघि सञ्चालन भइरहेका अत्यावश्यक मालसामान ओसारपसार गर्ने र स्वास्थ्योपचारको सिलसिलामा हुने आवागमन भने कायमै राखिएको छ ।

Logo