सामाजिक अभियन्ता ताराबहादुर कुँवरको प्रयासमा ३७० विपन्न परिवारलाई राहत वितरण

सामाजिक अभियन्ता ताराबहादुर कुँवरको प्रयासमा ३७० विपन्न परिवारलाई राहत वितरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चैत ११ गतेदेखि देश लकडाउनमा छ । यस अवधिका ४७ दिनमा दैनिक ज्यालादारी वर्गलाई निकै नै समस्या पारेको छ । हुन त यतिबेला सम्पन्न वर्गलाई नै कठिन भइरहेको अवस्थामा विपन्न वर्ग समस्यामा नपर्ने कुरै भएन ।

यहि समस्याले अधिकांश मजदूरहरु हिडेरै आफ्ना गाउँसम्म गएका छन् । गाउँ जान पनि नसक्ने र राजधानीमा खान, बस्न पनि नसक्ने अवस्थामा पुगेका विपन्न वर्गका लागि यतिबेला राजधानीका विभिन्न ठाउँमा विभिन्न संस्था र व्यक्तिहरुले राहत वितरण र निःशुल्क खाना खुवाउने अभियान शुरु गरेका छन् ।

यसमै जोडिएका छन्, सामाजिक अभियन्ता ताराबहादुर कुँवर । लकडाउन शुरु भएदेखि हालसम्म उनले ३७० जनालाई राहत वितरण गरेका छन् । उनले शुरु गरेको यस अभियानमा केहि अरु व्यक्तिहरुले पनि सहयोग गर्दै आएका छन् ।

उनले अप्ठ्यारोमा परेका अशक्त, अपाङ्गता भएका नागरिक, सुत्केरी, एकल महिला, दृष्टिविहिन, वृद्धवृद्धा, मजदूर र विद्यार्थी लगायतलाई राहत वितरण गर्दै आइरहेका छन् । शुरुमा प्रत्येक परिवारलाई एक, एक बोरा चामल वितरण गरिएको थियो । पछि २ परिवारलाई एक बोराका दरले वितरण गरियो । लकडाउन पनि बढ्दै गएको र समस्यामा परेका नागरिक पनि थपिंदै गएपछि सबैलाई समानरुपमा पुर्याउनका लागि हाल १० केजी चामल, दाल, आलु, नुन एक, एक केजी, तेल र साबुन लगायतका राहत सामग्री वितरण गरिने गरिएको कुँबरले बताएका छन् । हालसम्म करिब ४ लाख जति खर्च भएको छ । जसमध्ये ७५ हजार रुपैयाँ दाताहरुले दिएका छन् । आगामी दिनमा पनि यस्तो राहत वितरण गर्ने काम गरिरहने उनले बताए ।

राजधानीको बाफल र यस आसपासमा रहेका विपन्न वर्गका नागरिकका लागि उनले राहत वितरण शुरु गरेका हुन् । आफू पनि पहले मजदूर नै रहेकाले दुःखीहरुका समस्या राम्ररी बुझेको बताउने ताराबहादुर सामान्य रिक्सा चालक हुँदै अहिले व्यवसायी बनेका छन् । आपतमा परेका नागरिकलाई सहयोग गर्नु सबैको कर्तव्य भएकाले सकेको सहयोग गर्न उनले सबैलाई अनुरोध गरेका छन् ।

Logo