काठमाडौं । भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक मार्गको निर्माण गरेर हेपाहा प्रवृत्ति देखाएको साझा पार्टीले बताएको छ । शनिबार विज्ञप्ति जारी गर्दै पार्टीका सह–प्रवक्ता शरदराज पाठकले भारतले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको बताएका हुन् ।
भारतले नेपाली भूमिको अतिक्रमण गरी अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप गरेको साझाको भनाइ छ । साझा पार्टीद्वारा विज्ञप्तिमा भनिएको छ–‘भारत सरकारको लगातारका यस्ता कदम अन्तराष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले दोहोर्याउँदै आएको छ । त्यो स्पष्ट भारतले बारम्बार देखाउँदै आएको हेपाहा प्रवृत्तिको अर्को नमूना हो ।’
त्यस्तै साझा पार्टीले नेपाली भूमि लिपुलेकबाट भारतीय पक्ष तत्काल फर्कनुपर्ने उल्लेख गरेको छ । साथै, साझा पार्टीले धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले नयाँ नक्सा जारी गरी नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दाबी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेको उल्लेख गरेको छ ।
त्यस्तैगरी नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद गरेर भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन पनि साझा पार्टीले सरकारसँग माग गरेको छ । नेपालले कूटनीतिक पहल नगरेका कारण पनि भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना भएको साझा पार्टीको आरोप छ । ‘आफ्नो भू–भागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखवर रहेको देखिनु अत्यन्तै विडम्वनापूर्ण स्थिति हो ।’– साझा पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।































प्रतिक्रिया