‘श्रमिकहरुलाई कामबाट निकाल्न पाईंदैन’ : पर्यटन मन्त्री भट्टराई

‘श्रमिकहरुलाई कामबाट निकाल्न पाईंदैन’ : पर्यटन मन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कुनैपनि पर्यटन व्यवसायीले श्रमिकहरुलाई कामबाट निकाल्न नपाउने बताएका छन् ।

कोरोना भाइरसको नियन्त्रण रोकथामका लागि लकडाउन लागू गरिएपछि होटल संघ नेपाल (हान) ले होटल बन्द गर्ने र कर्मचारीलाई केही प्रतिशत रकम कटाएर पारिश्रमिक दिने निर्णय गरेपछि मन्त्री भट्टराईले कसैले पनि श्रमिकलाई कामबाट हटाउन नपाउने बताएका हुन् । पर्यटन मन्त्री भट्टराईले बिहीबार पत्रकारहरुसँगको भेटमा कुनैपनि व्यवसायीहरुले श्रमिकहरुलाई कामबाट निकाल्न नपाउने बताएका हुन् ।

उनले कोरोना भाइरसबाट परेको प्रभावलाई कम गर्नका लागि व्यवसायीहरु र श्रमिकहरुको हितमा केही पुनःस्थापना प्याकेजहरु अघि सार्ने सोचका साथ मन्त्रालय अगाडि बढेको बताए । मन्त्रालयले निश्चित रकमसम्म व्यवसाय सुचारु गर्नका लागि बिना धितो सहुलियत दरको कर्जा उपलब्ध गराउने, पुरानो ऋणको पुनर्तालिकिकरण गर्ने, भ्याट तथा ट्याक्समा छुट दिने लगायतका विषयमा सहयोग गर्ने मन्त्री भट्टराईले बताए ।

मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत १० वर्षे रणनीति घोषणा गर्न लागिएको समेत बताए । उनले भ्रमण वर्ष २०२० स्थगित भइसकेको अवस्थामा सन २०२१ देखि २०३० सम्मलाई पर्यटन दशकको रुपमा मनाउने गरी घोषणा गरिने समेत बताए । उनले सन् २०२० लाई सर्भाइभको वर्ष, २०२१ लाई रिभाइभ र २०२२ पछिका वर्षहरुलाई नर्मल पोजिसनको वर्षको रुपमा लिएर काम गरिने समेत बताए ।

‘लगानीका लागि साझेदारी प्रतिफलमा हिस्सेदारी’ भन्ने सोचसहित पर्यटन क्षेत्रमा स्थानीय तह र प्रदेश सरकारसँग मिलेर लगानी गर्ने योजना समेत मन्त्रालयको रहेको मन्त्री भट्टराईले बताए । प्रत्येक प्रदेशमा कम्तिमा एक ठाउँलाई मुख्य पर्यटन गन्तव्यको रुपमा विकास गर्न साझेदारीमा लगानी गर्ने समेत उनले बताए ।

Skip This
Skip This
Logo