प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा अप्रासंगिक : नागरिक अगुवा

प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा अप्रासंगिक : नागरिक अगुवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नागरिक समाजका अगुवाले बदर गरिसकिएका अध्यादेशलाई विवादको विषय बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा अप्रासंगिक विषय भएको बताएका छन् ।

दश जना बौद्धिक व्यक्तित्वले बुधबार संयुक्त अपिल गरी आगामी बजेटमार्फत नागरिक र मुलुकको हितमा कार्यक्रम ल्याउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउँदै यस्तो बेला सरकार बदल्नेसम्मको कार्यले राजनीतिक स्थिरता मात्र नबिथोलिई संसदमा उपस्थित राजनीतिक दलको प्राथमिकता केवल सत्ताको जोडघटाउ मात्र रहेको गलत सन्देश प्रवाह भई हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीप्रति नै वितृष्णा बढाउने औँल्याएका छन् ।

डा अर्जुन कार्की, विपीन अधिकारी, कनकमणि दीक्षित, टीका ढकाल, जयप्रकाशप्रसाद गुप्ता, रामेश्वर खनाल, डा. रेणु अधिकारी, रेम विश्वकर्मा, सूर्यराज आचार्य र सुशील प्याकुरेलले संविधानको भावना र व्यवस्थालाई लत्याउने गरी सत्तारुढ दलभित्र सरकार फेर्ने चलखेल हुनु प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

आमनागरिक काम, दाम र मामसमेत त्यागेर कोभिड –१९ महामारीविरुद्ध संघर्षमा सहभागी भएकाले केही शुरुआती सफलता हात लाग्न थालिसकेको जनाउँदै उनीहरुले यसलाई अवरुद्ध गर्ने, नागरिकका अत्यावश्यक प्राथमिकतालाई बेवास्ता गर्ने तथा विश्वमा राष्ट्रको सम्मानलाई समेत आघात पार्ने प्रवृत्ति देखा पर्न थालेको भनी चिन्ता र सरोकार पनि प्रकट गरेका छन् ।

सत्तारुढ दल आग्रहपूर्ण, संवेगात्मक र प्रतिक्रियात्मक सोचबाट नभई मुलुकको दीर्घकालीन हित र लोकतान्त्रिक मूल्य मान्यताको पक्षपोषण हुने जिम्मेवारीबोधबाट निर्देशित हुनु पर्ने सुझाव दिँदै उनीहरुले संकटको वर्तमान समयमा राजनीतिक परिस्थिति असामान्य बनाउने, सामाजिक स्थायित्वमा खलल पैदा गर्ने तथा राजनीतिक अस्थिरता फैलाउने गतिविधि तत्काल रोकी राष्ट्रिय समस्या समाधानमा एक जुट हुन सम्बन्धित सबै राजनीतिक पक्षसँग अपिल पनि गरेका छन् ।

दश नागरिकको अपीलः मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास तत्काल बन्द गरियोस्

१७ बैशाख २०७७, काठमाडौं ।

मुलुक कोभिड–१९ को महामारीसँग कठोर संघर्ष गरिरहेको यथार्थ कसैसँग लुकेको छैन । अहिलेसम्म नेपालमा सङ्क्रमण धेरै नफैलिएको भएपनि विश्वलाई नै सताइरहेको यस भयावह बिमारीले गम्भीर मोड लिन सक्ने खतरा कायम छ । आम नागरिकहरु काम, दाम र मामसमेत त्यागेर यो महामारीबिरुद्ध संघर्षमा सहभागी भएकोले केही शुरुवाती सफलताहरु हात लाग्न थालेका छन् । यसलाई अवरुद्ध गर्ने, नागरिकका अत्यावश्यक प्राथमिकतालाई बेवास्ता गर्ने तथा विश्वमा राष्ट्रको सम्मानलाई समेत आघात पार्ने प्रवृत्ति मुलुक हाँक्ने जिम्मेवारी निर्वाह गरिसकेका पूर्वप्रधानमन्त्री तथा लामो इतिहास बोकेका वरिष्ठ नेताहरूको अग्रसरतामा नै देखा पर्न थालेकोमा हामी गम्भीर चिन्ता र सरोकार प्रकट गर्दछौं ।

१. संसद अधिवेशन नभएको समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीबाट संवैधानिक परिषद तथा दल त्याग सम्बन्धी लोकतान्त्रिक मान्यता विपरीत दुई अध्यादेशहरु जारी गर्ने गराउने कार्यले राष्ट्रिय राजनीतिको ध्यान महामारीबाट अन्तै मोडेर चिन्ताजनक अवस्था पैदा गर्‍यो। हाल ती विवादास्पद अध्यादेश बदर गरिएका छन् । संविधानमाथि गर्न खोजिएको अनुचित प्रयोगबाट तत्कालका लागि मुलुक जोगिएको छ। संवैधानिक कानुनलाई प्रभावित गर्न सक्ने काम कारवाहीहरु अघि बढाउँदा प्रधानमन्त्रीले विधेयक निर्माणका नियमित तथा संसदीय प्रक्रियाहरु नै अवलम्बन गर्नुपर्दछ । नियमित र परिभाषित प्रक्रियाका जोखिम स्वाभाविक रुपले कम हुन्छन्। सोझै राष्ट्रपति संस्थाको प्रयोगबाट कानुन निर्माण गर्दा लोकतान्त्रिक संस्थाहरुको औचित्य कायम राख्नु चुनौतिपूर्ण हुन जान्छ ।

नेपालको वर्तमान संविधानले कायम गरेको संसदीय संरचना स्थिर सरकार प्राप्त गर्ने उद्देश्यबाट प्रेरित भएको हामी स्पष्ट गर्न चाहन्छौं। देशमा बहुमतको एकमना सरकार छ। लोकसम्मतिका आधारमा चल्नु यसको कर्तव्य हो। सरकारले संसदीय जवाफदेही रोज्नुको साटो अन्य बिकल्प प्रयोग गर्नु हुँदैन । लोकतान्त्रिक अभ्यास तथा विधि र प्रक्रिया सुनिश्चित गर्नेतर्फ राष्ट्रलाई तत्काल आश्वस्त गराउन प्रधानमन्त्री समक्ष गम्भीर ध्यानाकर्षण गर्दछौं।

२. बदर गरिसकिएका अध्यादेशलाई विवादको मुद्दा बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा उत्तिकै अप्रासंगिक विषय हो । संसदको बजेट अधिवेशन सन्निकट रहेको बेला आगामी बजेटमार्फत नागरिक र मुलुकको हितमा कार्यक्रमहरु ल्याउनेतर्फ सबैको ध्यान हुनुपर्दछ। यस्तो बेला सरकार बदल्नेसम्मको कार्यले राजनीतिक स्थिरता मात्र बिथोल्दैन, संसदमा उपस्थित राजनीतिक दलको प्राथमिकता केवल सत्ताको जोडघटाउ मात्र रहेको गलत सन्देश प्रवाहित भई हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीप्रति नै वितृष्णा बढाउँछ।

नेपालको संविधानले कायम गरेको संसदीय संरचना विद्यमान संसद पाँच वर्षको कार्यकालका लागि निर्वाचित भएको तथ्य सबै दललाई हामी स्मरण गराउन चाहन्छौं। संविधान अन्तर्गत प्रधानमन्त्रीसँग संसद विघटन गर्ने वा मध्यावधि निर्वाचनको घोषणा गर्ने अधिकार छैन । प्रतिनिधि सभाले आफैं इच्छामरणको बाटो अपनाउन पनि सक्दैन । संसद्को विद्यमान शक्ति बाँडफाँडले वैकल्पिक सरकार पनि दिन सक्दैन । संविधान अनुसार वर्तमान संसदलाई आगामी निर्वाचनबाट आउने अर्को संसदले मात्र विस्थापित गर्न सक्छ।

यी तथ्यहरु स्पष्ट हुँदाहुँदै संविधानको भावना र व्यवस्थालाई लत्याउने गरी सत्तारुढ दलभित्र सरकार फेर्ने चलखेल हुनु, त्यसका लागि दलभित्र र बाहिरका वरिष्ठ नेताहरु उन्मादित हुनु खेदजनक छ। मुलुक महामारीमा जुधिरहेको यस अवस्थामा पूर्व प्रधानमन्त्रीहरु समेतको अग्रसरतामा अस्थिरताको पुनरागमन हुने संकेत देखिंदा लोकतन्त्र प्रतिको आम नेपालीको विश्वासमाथि खेलवाड भएको छ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र विकसित घटनाक्रम दलको आन्तरिक मामिला मात्र होइन । यसको प्रत्यक्ष प्रभाव राष्ट्रिय राजनीतिमा परेको छ । यसको निकास आग्रहपूर्ण, संवेगात्मक र प्रतिक्रियात्मक सोचबाट होइन, मुलुकको दिर्घकालीन हित र लोकतान्त्रिक मूल्यमान्यताको पक्षपोषण हुने जिम्मेवारीबोधबाट निर्देशित हुनुपर्दछ।

संकटको वर्तमान समयमा राजनीतिक परिस्थिति असामान्य बनाउने, सामाजिक स्थायित्वमा खलल पैदा गर्ने तथा राजनीतिक अस्थिरता फैलाउने गतिविधि तत्काल रोकी राष्ट्रिय समस्या समाधानमा एकजुट हुन सम्बन्धित सबै राजनीतिक पक्षसँग हामी तल हस्ताक्षर गर्ने नागरिकहरु जोडदार अपील गर्दछौं।

हस्ताक्षरकर्ताः
१. डा. अर्जुन कार्की, चिकित्सक
२. विपिन अधिकारी, संविधानविद
३. कनकमणि दीक्षित, पत्रकार
४. टीका ढकाल, लेखक
५. जयप्रकाश प्रसाद गुप्ता, पूर्वमन्त्री
६. रामेश्वर खनाल, पूर्वसचिव
७. डा. रेणु अधिकारी, अधिकारकर्मी
८. रेम विश्वकर्मा, अधिकारकर्मी
९. सूर्यराज आचार्य, पूर्वाधारविद
१०. सुशील प्याकुरेल, अधिकारकर्मी

Skip This
Skip This
Logo