काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि मुलुक लकडाउनमा रहेकाले देश आर्थिक संकटमा परेको छ ।
यसको असर समग्र आर्थिक गतिविधि हुने उद्योग, कलकारखाना, होटल, पर्यटन तथा यातायात क्षेत्रमा धेरै नै परेको छ । त्यसैले यति बेला विभिन्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋणको किस्ता तिर्न समस्या भएको भन्दै यातायात व्यवसायीहरुले गाडी सञ्चालनमा नआउन्जेल बैंकको किस्ता स्थगन गर्न सरकारसँग माग गरेका छन् ।
व्यवसायीहरुले मासिक बैंक किस्ता नियमित रुपमा बुझाउन नपाउँदा बैंक ब्याज वृद्धि हुँदै जाने र यो परिस्थितिमा मासिक बैंक किस्ता अनिवार्य नगरी ब्याज लगायतको हर्जनालाई पूर्ण छुट गर्न समेत माग गरेका छन् ।
यातायात व्यवसायीहरुको छाता संगठन राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले अर्थमन्त्रालयका सचिव शिशिर ढुङ्गानालाई ज्ञापन पत्र बुझाएका छन् ।
उनका अनुसार सरकारले पूर्णतः मुलुक लकडाउन गरेको अवस्थामा मजदूरी गरेर खाने व्यवसायीहरुको रोजीरोटी गुमेको र सवारी साधन खरिद गर्दा बैंक तथा वित्तिय क्षेत्रबाट लिएको कर्जाको किस्ता समेत चलाउने अवस्था नरहेकाले यस्तो कर्जामा लाग्ने किस्ता बापतको रकम, ब्याज र जरिवाना शुल्क छुट दिन सरकारसँग माग गरिएको छ ।





























प्रतिक्रिया