विदेशबाट फर्किएका युवा हाते ट्याक्टर लिएर गाउँगाउँमा

विदेशबाट फर्किएका युवा हाते ट्याक्टर लिएर गाउँगाउँमा

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा ।

जाँगर हुनेलाई कामको खाँचो हुँदैन । वालिङ नगरपालिका–१२ भञ्ज्याङका युवाले यसको चरितार्थ गरिदिएका छन् । मुलुकमा काम नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर चले पनि प्रायः युवाहरु एकपटक वैदेशिक रोजगारीमा गएर आएपछि स्वदेशमै केही गरौँ भनेर लाग्ने गरेका प्रशस्तै उदाहरण देख्न पाइन्छ । त्यसै मध्येका युवा हुन् वालिङ नगरपालिका–१२ भञ्ज्याङका युवा । तीन युवा मिलेर अहिले सामूहिकरूपमा हाते ट्र्याक्टर प्रयोगमा ल्याएका छन् । अहिले उनीहरुलाई गाउँमा सघाउन भ्याइनभ्याइ छ । गहुँ बाली थन्क्याइ सकेर किसानले खाली गरेको खेतबारीमा मकै छर्न उनीहरु व्यस्त छन् ।

आजभोलि गाउँघरमा गोरु पाल्ने चलन कम हुँदै गएको र कृषिकार्यमा नयाँ–नयाँ प्रविधि भित्रिएपछि किसानको रोजाइ पनि यसमै पर्न थालेको छ । बिहान ७ बजे हातेट्याक्टर लिएर घरबाट निस्किएका युवा दिनभर काम गरेर साँझपखमात्रै घर फर्कन्छन् । सामूहिकरूपमा ट्र्याक्टर किनेर काम शुरु गरेका किसान न्यौपानेले भने, विदेशमा गएर काम गर्नुभन्दा आफ्नै देशमा बसेर काम गर्दा धेरै आनन्द हुने रहेछ । न्यौपानेले भने, “पहिला म पनि रोजगारीका लागि विदेश गएको थिएँ । विदेशमा गएर काम गरेपछि बल्ल थाहा भयो कामको महत्व, आफ्नै गाउँघरमा परिवारसँगै बसेर काम गर्न पाइन्छ भने किन विदेश जानु भनेर तीन साथी मिलेर हातेट्र्याक्टर किनेर सिजन अनुसार खेतबारी जोत्ने काममा लागेका छौँ ।”

अर्का युवा बलराम न्यौपानेले विदेशमा जत्तिकै श्रम नेपालमा गरेको खण्डमा राम्रो आम्दानी लिन सकिने बताए । उनले भने, हामी तीन जना सल्लाह गरेर एउटा हातेट्र्याक्टर ७५ हजारमा किनेर चलाएका छौँ, यसले हामीलाई पनि रोजगारी मिलेको छ भने किसानले पनि सहजरूपमा खेतीपाती लगाउन पाएका छन् । न्यौपानेले भने, “अहिले गाउँघरमा जोत्नका लागि गोरु नपाएर समस्यामा परेका किसान खुशी भएका छन् ।” पहाडी जिल्लाको पाखोबारी र साँघुरा खेतबारीमा ठूलो खालको ट्याक्टर प्रयोग गर्न नमिल्ने ठाउँमा हातेट्र्याक्टरको प्रयोग गरेर काम गर्दा किसानलाई धेरै सहज भएको न्यौपानेको भनाइ छ ।

उनले भने, “प्रतिघण्टा ७५० रुपैयाँका दरले लिने गरेका छौँ । यसो गर्दा किसानलाई पनि मर्का परेको छैन । हामीलाई पनि ठिकै भएको छ । घर खर्च चलाउनका लागि कुनै समस्या छैन, सिजन अनुसार राम्रै आम्दानी हुने गरेको छ ।” गाउँमा भिराला र स–साना खेतबारी हुने भएकाले काल्ला निकाल्न र झराल्न कठिनाइ हुने गरेको उनीहरुको अनुभव छ । पहिला ट्याक्टरको प्रयोग गर्दा महङ्गो जस्तो माने पनि पछि डल्डा ठोक्नु नपर्ने र छेउकुना खन्न नपर्ने भएकाले किसानहरु यसको प्रयोगतर्फ आकर्षित हुँदै गएको उनीहरु बताउँछन् ।

खेतबारीमा गहुँ, तोरी लगाए किसानले मकै रोप्ने काम सकिसके पनि बाँझै रहेका खेतबारीमा भने हिउँदे पानी परेपछि अहिले किसान खेती लगाउन व्यस्त छन् । सानो खालको ट्याक्टर भएकाले बाँझोमा जोत्न कठिन भएकाले बाँझो रहेको जमिनमा पानी परेपछि जोत्ने काम भइरहेको बलराम न्यौपानेले बताए ।

हाते ट्याक्टरले जोतेको ठाउँमा छेउकुना खन्नु नपर्ने भएकाले सहज भएको स्थानीय सुशीला पराजुलीले बताइन् । उनले भनिन्, “गाउँघरमा आजभोलि खेताला पाउन गाह्रो छ । ट्र्याक्टरले जोतेपछि अरु खेताला लगाएर डल्ला ठोक्ने र खन्नु नपर्ने भएकाले धेरै सहज भएको छ ।” किसानका लागि सरकारले कृषिका क्षेत्रमा प्रयोग हुने औजार एवं साधनलाई अनुदानमा दिने व्यवस्था मिलाएसँगै कृषि क्षेत्रमा आधुनिक औजार एवं औजारको प्रयोगतर्फ किसान आर्कषण हुन थालेका छन् ।रासस

Skip This
Skip This
Logo