प्रभावित क्षेत्र वर्गीकरण गरी लकडाउन गर्न सरकारलाई सांसदहरुको सुझाव

प्रभावित क्षेत्र वर्गीकरण गरी लकडाउन गर्न सरकारलाई सांसदहरुको सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय सभा अन्तर्गतका समितिले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन् ।राष्ट्रिय सभा अन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति गरी तीनवटा समितिको बैठक शुक्रबार बसेको थियो । नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) गरेदेखि पहिलो पटक भौतिक रूपमा समितिका बैठक बसेका हुन् ।

स्थानीय तहहरुलाई आवश्यक स्रोत साधन दिएर कोरोनाविरुद्ध लड्न सकिने सांसदहरुले बताएका छन् ।लकडाउनले मात्रै सम्पूर्ण समस्या समाधान नहुने भन्दै सांसदहरुले परीक्षणको दायरा बढाउनुपर्ने, राहत वितरण र पहिचानका लागि स्थानीय तहहरुलाई चलायमान बनाउनुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा समिति सभापति दिल कुमारी रावल थापाले कोरोना भाइरस नियन्त्रणका लागि पहिलो पंक्तिमा बस्ने स्थानीय सरकारलाई स्रोत साधन सम्पन्न बनाउनुपर्ने बताइन् ।

राहत वितरण र पहिचानका लागि स्थानीय सरकारलाई परिचालन गर्नुपर्ने नीति अवलम्बन गर्न पनि सरकारसँग आग्रह गरिन् । टोलटोलमा स्थानीय सरकारको पहुँच भएका कारण स्थानीय सरकारलाई परिचालन गर्नुपर्ने उनको भनाइ थियो । केही प्राइभेट अस्पतालहरुले ढोका बन्द गरेर इमेरजेन्सीमा मात्रै विरामी लिने र टिकट पनि महंगो भएको गुनासो आएकाले यसतर्फ पनि सरकारको ध्यान जानुपर्ने उनले बताइन् ।

सांसद अनिता देवकोटाले राहत वितरण सामाजिक दुरी कायम गर्दै वितरण गर्नुपर्ने, सम्बन्धित वर्गको अभिलेख तयार राख्नुपर्ने र परीक्षणको दायरा बढाउनुपर्ने बताइन् । सबै प्रदेशहरुमा आवश्यक पर्याप्त स्वास्थ्य उपकरणहरु पुग्न नसकेको उल्लेख गर्दै उनले लकडाउनसँगै परीक्षणको दायरा बढाएमात्रै कोरोना नियन्त्रणमा सफलता प्राप्त हुने बताइन् ।

सांसद कोमल वलीले प्रदेशहरुमा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको बताइन् । प्रदेश नम्बर ५ मा संक्रमित नभेटिएकाले डराउनुपर्ने अवस्था नभएनि सागम्री अभाव भएको गुनासो आएको उनले बताइन् । प्रदेश सरकारले करारमा चिकित्सक भर्ना गरी राहतमा रोजगारी कार्यक्रम सञ्चालन गरेको पनि उनले बताइन् ।

सांसद खिमलाल भट्टराईले उपत्यका लगायत अन्य ठूला सहरबाट घर जानेहरुलाई सुरक्षित रुपमा घर जाने व्यवस्था मिलाउनु पर्ने बताए । संक्रमण फैलिनबाट रोक्न जहाँ छ त्यही बस्नुपर्छ भन्ने सरकारको नीति राम्रो भएपनि खाना र बस्नको उचित व्यवस्थान हुन नसकेको उनले बताए । देशभित्र नियन्त्रणको काममा सरकारले राम्रो प्रयास गरेपनि देशबाहिर रहेका नागरिकहरुको गुनासो पनि सुन्नुपर्ने उनको धारणा थियो ।

बैठकमा उपस्थित सांसदहरुले आफ्नो क्षेत्रको समस्या, कोरोना नियन्त्रणका लागि भएका प्रयास र सरकारले गर्नुपर्ने कामका बारेमा आफ्नो धारणा राखेका थिए । कृषि क्षेत्रलाई समेत आवश्यक सुरक्षा संयन्त्र अपनाएर चलायमान बनाउनु अहिलेको आवश्यकता रहेको सांसदहरुको धारणा थियो ।

Skip This
Skip This
Logo