प्रदेश नं ५ः तराईमा आठ लाख र पहाडमा पाँच लाख दिइने

प्रदेश नं ५ः तराईमा आठ लाख र पहाडमा पाँच लाख दिइने

केन्द्रबिन्दु
0
Shares

बुटवल ।
प्रदेश नं ५ सरकारले प्रदेश अन्तर्गतका जिल्लामा कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि आवश्यक बजेट दिने निर्णय गरेको छ ।

प्रदेश सरकार, मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट तराईका जिल्लामा आठ लाख र पहाडी जिल्लामा पाँच लाख दिने निर्णय गरेको हो । उक्त रकम विपद् व्यवस्थापन समितिमा उपलब्ध गराइने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेसनोटमा जनाइएको छ ।

यस्तै बैठकले २०७७ सालमा प्रदेशले दिने ६ दिनको बिदाबारेसमेत निर्णय गरेको छ । प्रदेश सरकारले एक वर्षमा बकरइद, माघ १ र २ गते तथा फागुन ३ गते प्रदेश स्थापना दिवसमा बिदा दिइने निर्णय गरेको छ । स्थानीय तहको निर्णयबाट हुने एक दिनको बिदा र निश्चित पर्व मनाउने समुदाय र ठाउँमा एक दिन बिदाको निर्णय गरिएको छ । निश्चित पर्व मनाउने समुदाय र ठाउँ अन्तर्गत रुकुम, रोल्पामा भूमेपूजा, थारु समुदायको बडकवा अतवारी र पाल्पामा भगवतीजात्रामा बिदा दिइने छ ।

बैठकले बालरोग विशेषज्ञ डा किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाउने निर्णयसमेत गरेको प्रेसनोटमा जनाइएको छ ।रासस

Skip This
Skip This
Logo