काठमाडौं ।
सोमबार सरकारको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् र राजनैतिक दल सम्बन्धी अध्यादेशप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सभापति शेरबहादुर देउवाले आज साँझ एक विज्ञप्ती जारी गर्दै सरकारले आज जारी गरेको अध्यादेशलाई इतिहासकै दुःखद घटना भनेर टिप्पणी गरेका छन् ।
देउवाले देश यतिबेला कोरोनासँग लडिरहेको अवस्थामा सरकारले जारी गरेको अवस्थालाई आपत्तिजनक कदम र गैह्रजिम्मेवार प्रवृत्ति भनेका छन् । उनको विज्ञप्तीमा भनिएको छ :
अहिले कोरोनाको संक्रमणसँग पूरै विश्व एक भएर लडिरहेको छ । यस्तो बेलामा सरकारले आज संवैधानिक परिषद् सम्बन्धी र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जारी गरेको छ । त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि गरेको छ । दुवै अध्यादेशप्रती नेपाली कांग्रेसको गम्भीर असहमति छ ।
कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसम्भव सघाउँदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो ।
संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । सँगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो । नागरिक जीवन संकटमा रहेको घडी सरकारले चालेको कदम र रास्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उल्लंघन गरेको छ ।
नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ ।






























प्रतिक्रिया