कुन बैंकका सीइओले वार्षिक कति लिन्छन् तलव, कति तिर्छन् कर ?

कुन बैंकका सीइओले वार्षिक कति लिन्छन् तलव, कति तिर्छन् कर ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा बैंकको जागिर लोकप्रिय तथा सबैको आकर्षकको केन्द्र मानिन्छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा करियर बनाउनेहरुको निकै ठूलो समूह रहेको छ । त्यसमा पनि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नै भएपछि मानसम्मानको साथै पैसा पनि मालामाल नै हुने गरेको छ ।

वार्षिकरुपमा करोडौं तलबभत्ता पाउने भएपछि बैंकका सीइओको जागिर पनि आकर्षक बन्दै गएको छ । बैंकहरुले पनि वार्षिकरुपमा सिइओहरुको तलबभत्ता बढाउने गएका छन् भने कतिपय बैंकले घटाएका छन् । सिइओहरुले कमाइबाट राज्यलाई ३६ प्रतिशतसम्म कर तिर्ने गरेका छन् ।

बैंकले सीइओहरुको आर्थिक वर्ष २०७६/०७७ को तलब भत्ता सार्वजनिक गरेका छन् । अहिले २७ वटा वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीइओ) को तलबभत्ता सार्वजनिक भएको छ । कुन बैंकका सीइओको कति तलब ?

१. प्रभु बैंक
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को तथ्यांकमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनले तलब भत्ता गरेर ३ करोड ४२ लाख ९२ हजार रुपैयाँ बुझेका छन् । यो आर्थिक वर्ष २०७५/७६ भन्दा १ करोड १३ लाखले बढी हो । शेरचनले गत वर्ष तलब वापत २ करोड ५७ लाख रुपैयाँ, बोनस वापत ४८ लाख ७० हजार रुपैयाँ तथा दशैं भत्ता र बिदा वापत ३५ लाख ६८ हजार रुपैयाँ बुझेका छन् । यसरी बुझ्ने रकममा करिब ३६ प्रतिशत कर शेरचनले सरकारलाई बुझाउनु पर्ने हुन्छ । आर्थिक वर्ष २०७५/७६ मा शेरचनले १ करोड ८० लाख ७४ हजार रुपैयाँ तलब वापत, कर्मचारी बोनस वापत २३ लाख ३६ हजार रुपैयाँ तथा दशैं भत्ता र बिदा वापत २५ लाख ७८ हजार रुपैयाँ बुझेका छन् ।

२. बैङ्क अफ काठमाण्डू लिमिटेड
बैङ्क अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले गत आर्थिक वर्ष २०७६/७७ मा २ करोड ८१ लाख रुपैंयाँ तलब लिएका छन् । अघिल्लो आर्थिक बर्षमा २ करोड ३२ लाख रुपैंयाँ तलब लिएका थिए । पन्तले गत बर्षमा करिब २०.८९ प्रतिशत बढी तलब लिएका हुन् ।

३. एनआईसी एसिया बैंक लिमिटेड
एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले गत आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाँ तलब बुझेका छन् । अघिल्लो आर्थिक बर्ष २ करोड १३ लाख रुपैंयाँ तलब बुझेका थिए । उनको पनि अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा तलब बढेको छ । उनले गत बर्ष करिब १७.२७ प्रतिशत बढी रकम लिएको पाइएको हो ।

४.कुमारी बैंक लिमिटेड
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले गत आर्थिक वर्ष २०७६/७७ मा २ करोड ३८ लाख रुपैयाँ तलब बुझेका छन् । अघिल्लो आर्थिक बर्षमा २ करोड १४ लाख रुपैंयाँ तलब बुझेका थिए । गत आर्थिक वर्षको भन्दा उनको पनि ११.०३ प्रतिशतले तलब बढेको छ ।

५. माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ सन्तोष कोइरालाले गत आर्थिक वर्ष २०७६/७७ मा २ करोड १३ लाख रुपैयाँ तलव बुझेका छन् । अघिल्लो आर्थिक बर्षमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माले १ करोड १८ लाख मात्रै तलब बुझेका थिए । तर शर्माको भन्दा अहिलेका सिइओ कोइरालाले दोब्बरले तलब लिएका छन् ।

६. स्ट्यान्डर्टर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई करिब ४ करोड वार्षिक तलबभत्ता सुविधा प्रदान गरेको छ । सिइओ अनिर्वाण घोष दास्तीदारले तलब भत्ता तथा बोनस सुविधावापत गत आर्थिक वर्ष २०७६/७७ मा ३ करोड ९८ लाख रुपैयाँ बुझेका हुन् । उनले गत आर्थिक वर्षमा तलब तथा बोनस बापत २ करोड ८७ लाख रुपैंयाँ प्राप्त गरेका छन् । त्यस्तै उनले अन्य विभिन्न सुविधा बापत १ करोड १० लाख रुपैयाँ लिएका छन् । दास्तिदारले गत वर्ष तलब भत्ता तथा अन्य सुविधा लिँदा राज्यलाई कर मात्रै एक करोड ९२ लाख रुपैयाँ बुझाएका छन् । राज्यलाई कर तिरेर उनको हातमा भने २ करोड ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । बैंकका कर्मचारीले तलब भन्दा बोनस बढी प्राप्त गरेका छन् ।

७.नेपाल एसबीआई बैंक लिमिटेड
नेपाल एसबीआई बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनुकुल भटनागरले गत आर्थिक वर्ष २०७६/७७ मा १ करोड ७४ लाख ५९ हजार रुपैयाँ तलब बुझेका छन् । प्रमुख कार्यकारीसहित भारतबाट आएका कर्मचारीलाई स्टेट बैंक अफ इण्डियाले तलब दिने गरेको छ । हाल बैंकका प्रमुख कार्यकारी अधिकृतमा दीपककुमार दे कार्यरत रहेका छन् ।

८.मेगा बैंक
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गत आर्थिक वर्ष २०७६/७७ मा एक करोड ७० लाख ३२ हजार रुपैयाँ बुझेकी छिन् । उनको अघिल्लो आर्थिक वर्षको भन्दा गत वर्षमा तलब सुविधा ५६ लाख रुपैयाँले बढेको छ । अघिल्लो वर्ष बार्षिक एक करोड १४ लाख रुपैयाँ पारिश्रमिक तथा सुविधा बुझ्दै आएकी थिइन् । उनी सञ्चालनमा रहेका २७ बाणिज्य बैंकहरु मध्ये एक्लि महिला प्रमुख कार्यकारी हुन् ।

बैंकले आगामी पुस २९ गते डाकेको साधारणसभामा प्रस्तुत गर्न लागेको बार्षिक प्रतिवेदन अनुसार खुञ्जेलीले तलब मात्र एक करोड २ लाख रुपैयाँ पाएकी छिन् । यसबाहेक दशैं भत्ता साढे ८ लाख, बोनस र कल्याणकारी कोष बापत ५६ लाख ७९ हजार, इन्धन सुविधा ३ लाख रुपैयाँ बुझेकी छिन् । यद्यपी उनले आफ्नो आम्दानीमा ३६ प्रतिशत आय कर राज्यलाई बुझाएकी छिन् ।

बैंकले प्रबन्धक र उच्च ब्यवस्थापनलाई गत वर्ष तलब बापत ५ करोड १२ लाख रुपैयाँ भुक्तानी गरेको छ । भत्ता बापत ३ करोड ३१ लाख, सञ्चय कोष बापत ४८ लाख, दशैं भत्तामा ५८ लाख ७८ हजार, बोनस र कल्याणकारी कोषमा ३ करोड ५० लाख र इन्धन बापत ४५ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट ३.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।

९. सानिमा बैंक लिमिटेड
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) भुवन कुमार दाहालले गत आर्थिक वर्ष २०७६/७७ मा १ करोड ४६ लाख रुपैयाँ तलब बुझेका छन् । अघिल्लो आर्थिक वर्षमा २ करोड ८ लाख रुपैयाँ तलब लिएका थिए । उनले गत बर्षको भन्दा करिब ३० प्रतिशत कम तलब लिएका छन् ।

१०. सनराइज बैंक लिमिटेड
सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जनकराज शर्मा पौड्यालले गत आर्थिक वर्ष २०७६/७७ मा १ करोड ३१ लाख रुपैंयाँ तलब बुझेका छन् । उनले अघिल्लो वर्षको भन्दा गत बर्ष ६ प्रतिशत बढी तलब लिएका हुन् ।

११. सिटिजन्स बैंक लिमिटेड
सिटिजन्स बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गणेश पोखरेलले गत आर्थिक वर्ष २०७६/७७ मा १ करोड ३१ लाख रुपैयाँ तलब बुझेका छन् । अघिल्लो वर्षमा १ करोड ७९ लाख रुपैंयाँ बुझेका थिए । तर, यो रकम तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र पोखरेलले संयुक्त रुपमा बुझेको देखिएको छ ।

१२. नेपाल इन्फ्रास्टक्चर बैंक
नेपाल इन्फ्रास्टक्चर बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल ज्ञवालीले गत आर्थिक वर्ष २०७६/७७ मा १ करोड ३२ लाख रुपैयाँ तलब बुझेका छन् । नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुपेन्द्र पाण्डेको तलब यहि हाराहारीमा हुनेछ । यो वैंकको आगामी माघ २ गते सर्वसाधारणका लागि शेयर खुल्ला गर्ने तयारीमा रहेको छ ।

१३. नेपाल बंगलादेश बैंक लिमिटेड
नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले गत आर्थिक वर्ष २०७६/७७ मा १ करोड ४१ लाख रुपैयाँ तलब बुझेका छन् । उनले अघिल्लो वर्ष पनि यहि हाराहारीमा तलब बुझेका थिए ।

१४. नबिल बैंक लिमिटेड
नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिलकेशरी शाहले गत आर्थिक वर्ष २०७६/७७ मा १ करोड ६२ लाख रुपैयाँ तलब बुझेका छन् । अघिल्लो आर्थिक बर्षमा १ करोड ९८ लाख रुपैयाँ तलब बझेका थिए । तर शाहले गत बर्ष भने १८.०७ प्रतिशत कम तलब लिएका हुन् ।

१५.एनएमबि बैंक
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले गत आर्थिक वर्ष २०७६/७७ मा एक करोड ७५ लाख २८ हजार रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको छ । बैंकले अघिल्लो वर्ष केसीलाई एक करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको थियो । बैंकले पुस २९ गते डाकेको साधारणसभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार, केसीलाई तलबबापत ५९ लाख ४ हजार रुपैयाँ र सञ्चय कोषबापत पनि ५९ लाख ४ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

यसबाहेक भत्ता ५२ लाख ४८ हजार रुपैयाँका साथै बोनस तथा वेलफेयरबापत ५५ लाख ७६ हजार रुपैयाँ र अन्य सुविधाबापत २ लाख ९ हजार ९०५ रुपैयाँ भुक्तानी गरेको छ । यद्यपि उनले सरकारलाई ३६ प्रतिशत आयकर नै तिर्छन् । बैंकका प्रमुख ब्यवस्थापनका कर्मचारीले ५ करोड २४ लाख ४० हजार रुपैयाँ बुझेका छन् । प्रमुख ब्यवस्थापनमा नौ जना छन् ।

१६.लक्ष्मी बैंक
लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले गत आर्थिक वर्ष २०७६/७७ मा कुल पारिश्रमिक र भत्ताबापत एक करोड ९ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ । अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारीलाई एक करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको थियो । त्यसबेलाको लामो समय प्रमुख कार्यकारीका रूपमा सुदेश खालिङले काम गरेका थिए । त्यही वर्ष खालिङको कार्यकाल सकिएपछि प्रमुख कार्यकारीमा अजयविक्रम शाह नियुक्त भएका थिए ।

बैंकले पुस २८ गते डाकेको साधारणसभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार, अन्य उच्च पदाधिकारीहरुलाई ५ करोड ७५ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको छ । वार्षिक प्रतिवेदन अनुसार, यो तलब सुविधा बाहेक बैंकका कर्मचारीहरुलाई कर्मचारी सेवा विनियमावली र कर्मचारी सेवा र शर्त अनुसार अन्य सुविधाहरु पनि उपलब्ध हुन्छ । बैंकले गतवर्ष कर्मचारीमा कुल एक अर्ब २३ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ । कार्यालय सञ्चालनमा ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ । बैंकले गत वर्ष एक अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको शेयर पूँजी ९ अर्ब ८१ करोड छ भने नेटवर्थ १३ अर्ब ९७ लाख रुपैयाँ छ ।

१७.एभरेष्ट बैंक
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गजेन्द्रकुमार नेगीले गत आर्थिक वर्ष २०७६/७७ मा वर्षमा चार करोड ८८ लाख रुपैयाँ बुझेका छन् । रहेका छन् । एभरेष्ट बैंकमा भारतीय बैंक पञ्जाव नेशनल बैंकको लगानी छ । अघिल्लो वर्ष यस्तो सुविधा ४ करोड ११ लाख रुपैयाँ दिएको थियो । प्रमुख कार्यकारी अधिकृत, तीन जना नायब महाप्रबन्धक र दुई जना सहायक महाप्रबन्धक गरि जम्मा ६ जनाले ४ करोड ११ लाख रुपैँयाँ बराबरको तलब सुविधा प्राप्त गरेको बैंकले जनाएको छ । यो तलब सुविधा यस भन्दा अघिल्ला सिइओ सोमेश्वर सेठलाई दिइएको हो ।

अहिले बैंकमा गजेन्द्रकुमार नेगी सिइओको रुपमा कार्यरत छन् । नेगी हालै मात्रै सिइओको रुपमा बैंकमा प्रवेश गरेका हुन् । एभरेष्ट बैंकले पुष २७ गते वार्षिक साधारणसभा गर्दैछ । सो सभाले १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ । बैंकले ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बोनस शेयर पारितपछि बैंकको चुक्तापूँजी ४२ करोड ३५ लाख रुपैयाँले बढ्ने छ ।

बैंकले चालू वर्षको पहिलो त्रैमासमा १३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही बेला ३० करोड ८४ लाख रुपैयाँ कमाएको थियो । संस्थापक शेयरधनीतर्फ भारतको पञ्जाब नेशनल बैंकको हिस्सा २०.०३ प्रतिशत छ । कम्पनीको ३० प्रतिशत शेयर सर्वसाधारणको छ ।

१८. कृषि विकास बैंक
निजी बैंकको तुलनामा सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओहरुको तलब कम छ । बैंकको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन अनुसार सीइओ अनिलकुमार उपाध्यायले तलब ३६ लाख ९१ हजार ६६६ रुपैयाँ रकम बुझेका छन् ।

२०.नेपाल बैंक
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वार्षिक तलब सुविधा बापत करिब ४७ लाख रुपैयाँ बुझेका छन् गत आर्थिक वर्ष २०७६/७७ मा अधिकारीले ४६ लाख ९६ हजार रुपैयाँ प्राप्त गरेका छन् । अधिकारीले तलबबापत ३० लाख १३ हजार रुपैयाँ र १६ लाख भत्ता बुझेका हुन् । अन्य वाणिज्य बैंकहरूका सिइओका तुलनामा यो रकम उल्लेख्य रूपमा कम हो । सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीको तलब सुविधा सरकारी स्केल अनुसार हुने गरेको छ ।

२१. राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ किरणकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०७६/७७ मा ४० लाख ६५ हजार तलबबापतको रकम लिएका छन् ।

२२. ग्लोवल आइएमई बैंक
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत र कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले गत आर्थिक वर्ष २०७६/७७ मा २ करोड ८२ लाख रुपैयाँ बुझेका छन् । यो तलब जनता बैंक मर्जर भएर आउनु अगाडि तत्कालीन कायममुकाय कार्यकारी अधिकृत महेशप्रसाद ढकाल र मर्जरपछिका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवरले बुझेका हुन् । ग्लोबल आइएमई बैंकले २०७६ मंसिर २० गते जनता बैंकलाई प्राप्ति गरेको थियो । बैंकका सिइओ तथा कामु सिइओले तलबबापत ९० लाख २७ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै उनीहरुले भत्ताबापत ११ लाख ४ हजार रुपैयाँ प्राप्त गरे ।

२३.हिमालयन बैंक
हिमायलन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले गत आर्थिक वर्ष २०७६/७७ मा एक करोड ७९ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा प्राप्त गरेका छन् । उनले गत वर्ष तलब बापत ८७ लाख ५५ हजार रुपैयाँ लिएका छन् । त्यस्तै भत्ता बापत ७८ लाख ४ हजार रुपैयाँ बुझेका हुन् । उनले यसबाहेक टेलिफोन मोबाइल सुविधा बापत ५ लाख ६ हजार रुपैयाँ लिएका हुन् । यस बाहेक उनले ९ लाख ११ हजार रुपैयाँ बुझेका छन् । राणाले यसका साथै गाडीको सुविधा र बीमाको सुविधा लिने गरेका छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने तलब भत्ता तथा अन्य सुविधा बापत २९ करोड १६ लाख रुपैयाँ बुझेका छन् ।

२४.नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले गत आर्थिक वर्ष २०७६/७७ मा तीन करोड ६ लाख रुपैयाँ प्राप्त गरेका छन् । पाण्डेले तलब बापत मात्रै एक करोड ६० लाख रुपैयाँ बुझेका हुन् । यसबाहेक उनले भत्ताबापत एक करोड ७ लाख रुपैयाँ लिएका छन् । बैंकले उनलाई २२ लाख ३३ हजार रुपैयाँ दसैँ भत्ता दिएको छ । सञ्चयकोषमा उनको नाममा १६ लाख ८ हजार रुपैंयाँ बैंकले जम्मा गरिदिएको छ ।

२५.प्राइम कमर्सियल बैंक
प्राइम कमर्सयिल बैंकका कार्यकारी अधिकृत सिइओ नारायणदास मानन्धरले गत आर्थिक वर्ष २०७६/७७ मा १ करोड ९ लाख ७६ हजार तलब बापत लिएका छन् । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतशित बोनस शेयर दिने घोषणा गरेको थियो । त्यस्तै एनएमबी बैंकले पनि गत आर्थिक वर्षको मुनाफाबाट १६.२० प्रतिशत लाभांश दिने भएको छ ।

२६.सिद्धार्थ बैंक
सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले गत आर्थिक वर्ष २०७६/७७ मा एक करोड ५१ लाख ३८ हजार रुपैयाँ तलब भत्ता लिएका छन् ।

२७.एनसीसी बैंक
एनसीसी बैंकका कार्यकारी अधिकृत रमेशराज अर्यालले आथिक वर्ष २०७६/७७ मा १ करोड २० लाख ६५ हजार रुपैयाँ तलब लिएका छन् ।

 

Skip This
Skip This
Logo