काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) को प्रभावले गर्दा निजी क्षेत्रबाट सञ्चालनमा रहेका उद्योगमा कार्यरत कर्मचारीको तलब कटौती गरिने भएको छ ।
सरकारले गत चैत ११ गतेदेखि पूर्णरुपमा देश लकडाउन गरेको छ । यसरी देश लकडाउनमा रहेकाले अत्यावश्यक बाहेकका उद्योग व्यवसाय ठप्प रहेका छन् ।उद्योग सञ्चालन गर्न नसकेकाले कम्पनिमा कार्यरत कर्मचारीलाई तलब खुवाउन मुस्किल पर्ने भएको छ । त्यस्तैले व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले निजि कम्पनीमा कार्यरत कर्मचारीको तलब कटौती गर्ने सहमति गरेका हुन् ।
व्यापार व्यवसायनै ठप्प भएपछि कार्यरत कामदारलाई पूरा तलब दिन नसक्ने निश्कर्षमा निजी क्षेत्रका संगठनहरु पूगेकाले मजदूर संगठनका नेताहरुसँग पनि तलब कटौती गर्ने विषयमा छलफल गरिरहेको र छिटै नै श्रम मन्त्रीलाई पनि जानकारी गराउने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।
उनका अनुसार कामदारको पनि दैनिकी चल्ने र व्यवसायीहरु पनि डुब्ने अवस्था नआओस् भनेर यस्तो निर्णय गरिएको हो ।उनले भनिन् , ‘यति बेला सबै उद्योग व्यवसाय बन्द छन्, तर हामीले कामदारहरुलाई तलब पनि दिनै पर्छ, तर सबै तलब दिँदा व्यवसायी पनि मर्ने भएकाले व्यवसाय पनि नमर्ने कर्मचारी पनि नमर्ने भएर यस्तो गरेका छौं ।’
एक साता अघि ३ वटै संघका रोजगारदाता परिषद्का पदाधिकारीसहितको बैठक बसेको थियो । उक्त छलफललाई मूर्तरूप दिन महासंघकी अध्यक्ष राणाको निजि निवासमा शुक्रबार ३ वटै संस्थाका पदाधिकारीको बैठक बसेको थियो । व्यवसायीहरुका अनुसार २० हजारसम्म तलब पाउनेलाई ८० प्रतिशत, ३० हजारसम्म तलब पाउनेलाई ७० प्रतिशत, ४० हजार तलब पाउनेलाई ६० प्रतिशत, ५० हजारदेखि एक लाख रुपैयाँसम्म तलब पाउनेलाई ५० प्रतिशत तलब दिनेबारे छलफल भइरहेको छ ।
कोरोनाले अति प्रभावित उद्योग व्यवसायले कामदार कटौती गर्न पाउनु पर्ने सम्मको माग व्यवसायीहरुको छ । यो मागसहित केही दिनभित्रै सरकारलाई यसको लिखित जानकारी दिने सहमति भएको छ ।































प्रतिक्रिया