कोरोना पीडितको सहयोगार्थ एनआरएनए पूर्वअध्यक्षको सक्रियता

कोरोना पीडितको सहयोगार्थ एनआरएनए पूर्वअध्यक्षको सक्रियता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड–१९ को महामारीले चपेटामा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एक जुट भएका छन् ।

एनआरएनको शुक्रबार पदाधिकारी तथा पूर्वअध्यक्षको विद्युतीय बैठकमा कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरिएको कार्यकारी निर्देशक हेमन्त दवाडीले जानकारी दिए ।

बैठकको अध्यक्षता गर्दै अध्यक्ष कुमार पन्तले कोरोना पीडित र नेपाल फर्किन चाहने नेपालीका सम्बन्धमा पूर्वअध्यक्षसँग परामर्श गरेका थिए । बैठकलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाल फर्केर आउने नेपालीलाई देशमा समायोजन गर्न आर्थिक रुपमा पनि तयार हुनुपर्नेमा जोड दिइयो । उनले कोरोना संक्रमणको महामारीबाट प्रभावितका लागि सहयोगार्थ अर्थ संकलन गरेर दीर्घकालीन कोष स्थापना गर्न सुझाव पनि दिए ।

पूर्वअध्यक्ष देवमान हिराचनले लकडाउनका कारण कृषि उत्पादनले बजार नपाउँदा कृषकले आर्थिक क्षति बेहोर्नुपरेको बताए। पूर्वअध्यक्ष जीवा लामिछानेले विदेशमा रहेका नेपालीका समस्या समाधानका लागि एनआरएनले थप सक्रियता देखाउनु पर्ने बताउँदै संस्थालाई अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गर्न सुझाव दिए । निवर्तमान अध्यक्ष भवन भट्टले संक्रमणमा परेका नेपालीको सहयोगमा आफ्नो र अर्को नभनी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

संघका उपाध्यक्ष डा बद्री केसीले वैदेशिक रोजगारीमा रहेका गैरआवासीय नेपालीका समस्या र स्वास्थ्य सम्बन्धी सामग्री खरीदमा भएको प्रगति विवरणबारे विस्तृत जानकारी दिए । संघका उपाध्यक्ष सोनाम लामाले गैरआवासीय नेपालीले पठाएका स्वास्थ्य सामग्री वितरणमा सरकारी प्रक्रिया ढिलो नहुन आग्रह गरे । अर्का उपाध्यक्ष मन केसीले कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपालीले भोगेको समस्याका बारेमा जानकारी दिए।

एनआरएनका संस्थापक रामप्रताप थापाले नेपाली विद्यार्थीको मुख्य समस्यामा केन्द्रित रहेर संस्थालाई राहतको प्याकेज ल्याउनुपर्ने सुझाव दिए । प्रवक्ता डिबी क्षेत्रीले मध्यपूर्वमा रहेका गैरआवासीय नेपाली समुदायका गतिविधि र समस्याका बारेमा आफ्ना भनाइ राखेका थिए । एनआरएनका कोषाध्यक्ष महेश श्रेष्ठले सबै राष्ट्रिय समितिलाई तीनतीन महिनामा आर्थिक प्रतिवेदन वेबसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

महिला संयोजक भूमा लिम्बूले विदेशमा रहेका नेपालीलाई खान बस्नको समस्या रहेको विचार व्यक्त गरिन् । बैठकमा महासचिव डा हेमराज शर्माले कोरोना पीडित नेपालीको तथ्यांक संकलन भइरहेको जानकारी दिएका थिए ।रासस

Skip This
Skip This
Logo