काठमाडौं ।
भारतीय रिजर्व बैंक (आरबिआई) ले थप राहतको प्याकेज घोषणा गरेको छ ।
आरबिआईले माइक्रो फाइनान्स तथा ननबैंकिङ फाइनान्स कम्पनी (एनबीएफसी)लाई सहजै रकम उपलब्ध गराउने भएको हो । त्यस्तै, आरबिआईले रिवर्स रिपो रेट एक चौथाईले घटाएको छ । रिवर्स रिपो रेट ४ प्रतिशतबाट घटाएर ३.७५ प्रतिशत कायम गरेको आरबीआइले जनाएको छ । त्यस्तै, टार्गेटेड लङ टर्म रिपो अपरेसन (टिएलटीआरओ) अन्तर्गत तरलता ब्यवस्थापन गर्न ५० हजार करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
बैंकहरुले आफ्नो फण्डको ५० प्रतिशत रकम साना तथा मध्यमस्तरका ननबैंकिङ फाइनान्स कम्पनी बैंकहरुसम्म उपलब्ध गराउनु पर्ने भएको छ । त्यस्तै ग्रामीण अर्थव्यवस्था तथा लघुउद्यमीहरुका लागि पनि सहजै ऋण उपलब्ध गराउन रकम उपलब्ध गराउने आरबिआईले जनाएको छ । आरबिआईका गभर्नर शक्तिकान्त दासले कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको अवस्थासँग जुध्न आवश्यक उपायहरु अपनाइने बताएका छन् । राहत प्याकेजको घोषणा गर्दै गभर्नर दासले भने,‘म ती सबै व्यक्तिहरुको साथमा छु, जसले कोरोना महामारीको समयमा अत्यावश्यक सेवा दिन घर बाहिर निस्किएका छन् । म ती सबैलाई धन्यवाद दिन्छु, जसले कोरोना बिरुद्धको लडाईंमा आफ्नो चिन्ता नगरी अरुको सेवा गरिरहेका छन् ।’
गभर्नर दासले कोरोनाको महामारीसँगै जिडिपी घट्ने बताएका छन् । तर पछि फेरि तीब्र गतिमा बढ्ने भन्दै आशावादी हुन आग्रहसमेत गरेका छन् । कोरोना संकटका कारण भारतको जिडिपी बृद्धिदर १.९ प्रतिशत रहने अनुमान गरिएको छ जुन जि २० देशहरु मध्ये सबैभन्दा उत्कृष्ट हो । गभर्नर दासका अनुसार भारतको अर्थतन्त्रको अवस्था अन्य देशहरुभन्दा राम्रो छ ।
त्यसैगरी, आरबीआइले बैंकहरुलाई लाभांश बाँड्न पनि रोक लगाएको छ । जसले साना तथा ठूला उद्योगहरुलाई तरलता अभाव हुन नदिन सघाउने आरबीआइएको भनाई छ । आरबीआइले गत मार्चमा पनि विशेष प्याकेज ल्याएको थियो ।































प्रतिक्रिया