काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये कोभिड–१९ भाइरसको संक्रमण परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिई स्वेच्छाचारी ढंगबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले गत फागुन २९ र ३० मा नेपाली श्रमिकलाई कतार प्रहरीले गिरफ्तार गरी हिरासतमा लगेको र धेरै दिन राखेपछि नेपाल फर्काइदिएको नेपाली श्रमिकसँग गरिएको अन्तर्वार्तामा उल्लेख गरेको छ ।
त्यस्तै कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री (पीपीई) बनाउन महाविर पुन व्यस्त भएका छन् । आविष्कार केन्द्रमा स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री बनाउन महाविर पुन सहितको समूहलागि परेको इन्जिनीयर शंकर ढकालले जानकारी दिए ।
पशुपति क्षेत्रमा बस्दै आएका साधुसन्तलाई खाद्यान्न अभाव भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशैभर लकडाउन गरेकाले पशुपति क्षेत्रमा भक्तजन नआउँदा खाद्यान्न अभाव भएको हो ।
त्यस्तैगरी सरकारले लकडाउनलाई कडाई गर्दै कोरोना भाइरसको परीक्षण, पहिचान र उपचारलाई तीव्रता दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनको अवस्थामा अनावश्यक रुपमा हुने आवागमनलाई कडाई गर्ने निर्णय गरेको हो ।
त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालका डाक्टरलाई कुटपिट गरेको घटनामाथि छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । बिहिबार सञ्चारमाध्यमबाट कुटपिटको घटना बाहिरिएसँगै महानगरीय प्रहरी कार्यालयले एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दू हेर्न नभुल्नूहोला





























प्रतिक्रिया