‘गाउँ नफर्किनुहोस्, समस्यामा परेकालाई सहयोग गर्छौ’–महानगर प्रमुख

‘गाउँ नफर्किनुहोस्, समस्यामा परेकालाई सहयोग गर्छौ’–महानगर प्रमुख

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले नव वर्ष २०७७ को उपलक्ष्यमा सम्पूर्ण महानगरवासीमा सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन । नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै उनले शुभकामना व्यक्त गरेका हुन् ।

उनीद्धारा जारी सन्देशमा विश्वभरी महामारीका रुपमा फैलिदै गइरहेको कोरोना भइरस (कोभिङ–१९) बाट हामी शिघ्र मुक्त हुन सकौँ भन्ने कामना पनि व्यक्त गरेका छन् । ‘यस महामारी विरुद्ध लड्न हामी सबैलाई साहस र हौसला प्राप्त होस् भन्ने कामना व्यक्त गर्दछु’–उनले भनेका छन्–‘अहिले विश्वभरी नै कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न सबै जना आ–आफ्नै घरमा लकडाउनको अवस्थामा रहेको स्मरण गराउँदै नयाँ वर्षलाई धुमधामसँग नमनाउन पनि आग्रह गर्दछु ।’

त्यस्तै उनले यस्तो स्थितिमा नव वर्षको यस शुभदिनलाई अन्य सामान्य अवस्थामा जस्तै धुमधामपूर्वक नमनाई सरकारले लागू गरेको लकडाउनको पालन गर्दै आफ्नै घर परिवार भित्र सीमित रही मनाउन आग्रह गरेका छन् ।
कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न अहिले काठमाडौं महानगरपालिकाले हरेक दिन विभिन्न वडाहरुमा किट्नाशक औषधि छर्कने, ब्रुमर प्रयोग गरी नियमित सरसफाई गर्ने, नियमित फोहोर उठाउने कार्यलाई तिव्रता दिँदै आइरहेका पनि उल्लेख गरेका छन् । उनले लकडाउनका कारणले हातमुख जोड्न समस्यामा परेका नगरवासीलाई वडा कार्यालयहरुबाट राहत सामग्री उपलब्ध गराइरहेको बताएका छन् ।

त्यस्तैगरी नगरवासीहरु लकडाउनको समयमा काठमाडौंबाट गाउँघर फर्किन थालेकोप्रति संकेत गर्दै संकटको घडीमा गाउँ नफर्किन पनि आग्रह गरेका छन् । उनले भनेका छन्–‘केही नगरवासीहरु लकडाउनको समयमा काठमाडौंबाट गाउँघर फर्किन थालेका समाचारहरु सुनिनमा आएका छन् । यो संकटको घडीमा उहाँहरुलाई सहर छाडेर नगइदिनुहुन र यहाँ बस्दा कुनै पनि प्रकारको समस्या आएको भए आफू बसेको सम्वन्धित वडा कार्यालय वा महानगरको टोल फ्रि नम्बर ११८० मा सम्पर्क गर्नुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

साथै महानगरले महानगवासीको लागि प्रयोगमा ल्याएको कोभिड–१९ संक्रमणबारे स्वमुल्याकंन गर्न सकिने नेपाल कोभिड–१९ सर्भिलेन्स डाउनलोड गरी प्रयोग गर्न आग्रह गर्दै बिरामी अस्पताल लैजान समस्या भएमा महानगरपालिकाको सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

Logo