काठमाडौँ ।
नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको भाउ लगातार बढिरहेकाले नेपाली रुपैयाँ कमजोर भएको हो । विश्वमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि डलरको भाउ पनि लगातार बढिरहेको छ । जसको प्रभाव नेपाली रुपैँयाँमा पर्दा कमजोर बन्न पुगेको हो ।
नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि डलरको भाउ १२२ रुपैयाँ ५० पैसा तोकेको छ । डलरको भाउ एकैदिन १ रुपैयाँ १९ पैसाले बढेको हो । यस दिन अमेरिकी डलरको खरिद मूल्य भने १२१ रुपैयाँ ९० पैसा कायम भएको छ । अघिल्लो दिन डलरको बिक्री मूल्य १२१ रुपैयाँ ३१ पैसा र खरिद मूल्य १२० रुपैयाँ ७१ पैसा थियो । केरोना भाइरसकै कारण अन्य क्षेत्रमा भन्दा डलरमा लगानी सुरक्षित देखिएकाले लगानीकर्ता डलरतर्फ आकर्षित भएकाले डलरको भाउ लगातार बढेको हो ।
नेपाल आयातमा भर पर्ने मुलुक हो । नेपालले दैनिक उपभोग्यदेखि औद्योगिक तथा मेशिनरी सामान विदेशबाटै आयात गर्दै आएको छ । डलरको भाउमा उतारचढाब हुने वित्तिकै त्यसको असर प्रत्यक्ष रुपमा नेपाली बजारमा पर्छ । डलरको मूल्य बढ्ने वित्तिकै काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा वृद्धि हुन्छ । हाम्रो मुलुकको अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । त्यसैले हरेक पटक डलर बढ्दा नेपाल भित्रिने रेमिट्यान्समा वृद्धि हुन्छ । नेपाली निर्यातकर्तालाई फाइदा हुन्छ । उनीहरुले सामान निर्यात गरेर बढी डलर कमाउन सक्छन् । तर त्यसबाहेकका अघिकांश कुरामा नेपाललाई घाटा नै हुन्छ । नेपाल आयातमूखी भएकोले भुक्तानी गर्नुपर्दा डलरमै गर्नुपर्ने हुन्छ । डलर बढ्दा नेपालले बढी भुक्तानी गर्नुपर्ने हुन्छ । जसले व्यापार घाटालाई अझै बढाउँछ ।
डलरको मूल्य बढ्दा नेपाललाई जति फाइदा छ त्यो भन्दा बढी घाटा बेहोर्नुपर्ने हुन्छ । त्यस्तै, दैनिक उपभोग्यका सामानहरु र भारत तथा तेस्रो मुलुकबाट आयात गरिने मोबाइल, मोटर, लत्ता कपडा तथा इलेक्ट्रोनिक्सका सामानहरु महँगो पर्न जान्छन् ।































प्रतिक्रिया