काभ्रे ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथामको लागि उच्च जोखिम र शंस्कास्पद व्यक्तीहरुलाई राख्न अहिलेसम्ममा महाभारतमा ३५ बेड र खानिखोला गाउँपालिकामा १५ वटा क्वारेन्टाईन बनाइएको सम्बन्धित गाउँपालिकाहरुले जनाएका छन् ।
महाभारत गाउँपालिका प्रमुख कान्छालाल जिम्बाले स्थानिय स्रोतसाधनको अधिकतम प्रयोग गरि क्वारेन्टाइन बनाइएको जनाए । उनले महासिद्धि प्रावि भवनमा ८ बेड , वडा नं ५ को वडा कार्यालयमा ६ बेड गाउँपालिकाको पुरानो भवनमा ७ बेड, घर्तिछाप स्वास्थ्य चौकीमा ४ बेड ,भैरव माबिको भवन धापमा ६ बेड र बाल उज्जाल प्राविमा ४ बेड गरि ३५ बेडको क्वारेन्टाईन बनेको बताए । यस्तै खानिखोला गाउँपालिकाका प्रबक्ता मानबहादुर गोलेले पनि गाउँपालिकाको केन्द्र ताल्ढुंगाको जनबिकास माविमा १५ बेडको क्वारेन्टाइन बनाइएको बताए ।

गाउँपालिकाले क्वारेन्टाइन अर्थात एकान्तबासमा रहॅंदा खाना, स्वास्थ्य जाँच, सुरक्षा ,व्यक्तीगत सरसफाइको किटबक्स सामान पनि निःशुल्क वितरणको व्यवस्था गरिएको पालिका प्रमुख जिम्बाले बताए ।
नेपाल सरकार र जनप्रतिनिधीको चासो र कर्तव्यको विषय मात्र नभएर प्रत्येक नागरिकले लकडाउनको निर्देशन पालना गर्नु कर्तव्य हो भन्दै खानिखोला गाउँपालिकाले सोमबार विशेष बैठक मार्फत गाउँपालिकामा खाद्य सामग्री आभाव भएको भन्दै इच्छुक दाताले गाउँपालिका मार्फत सहयोग गर्न आव्हान गरेको छ । यता जिम्बाले कुनै पनि शंका लागेको ब्यक्तीहरु भेटिएमा तुरुन्त गाउँपालिकामा अथवा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे ।
माहाभारत गाउँपालिकाको वडा नं. २ का १ जना ब्यक्ति विदेशबाट आएको र उनलाई स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ । उनको क्वारेन्टाइनको समय पनि सकिन लागेको गाउँपालिकाका स्वास्थ्य संयोजक हरिसिंह विष्टले जानकारी दिए । विष्टका अनुसार गाउँपालिकामा अहिलेसम्म कुनैपनि व्यक्तिमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएको छैन । खानिखोलामा भने १२ जना विदेशबाट आएको र उनीहरुलाई निगरानीमा राखिएको बताइएको छ ।





























प्रतिक्रिया