- रामजी बलामी-
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गत फागुन ८ गते मन्त्री पदबाट राजीनामा दिए । बाँस्कोटाले आफ्नोबारे प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएको भन्दै ट्वीट गरेका थिए।
२०७४ चैत २ गते केपी ओली नेतृत्वको सरकारमा राज्यमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका उनी त्यसको १४ महिनापछि मन्त्रीमा बढुवा भएका थिए । अन्तत: मन्त्री बनेकोे १९ महिनापछि बाँस्कोटा सिंहदरबारबाट बाहिरिए । काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेसका लागि स्वीस कम्पनीका एजेन्ट विजय मिश्रसँग कमिसनकाे बारेमा कुराकानी भएकाे अडियो सार्वजनिक भएपछि उनी राजीनामा दिए बाध्य भए।
राजीनामा दिएका निबर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा डेढ महिनादेखि ‘गुमनाम’ छन् । सञ्चारमाध्यमबाट टाढा रहेका उनी सामाजिक सञ्जाल भने सक्रिय छन् ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत २५ गतेसम्म लकडाउन घोषणा गरेको छ । लकडाउनका बेला बास्कोटाले फेसबुकको सदुपयोग गरिरहेका छन्। भलै त्यहाँ जतिसुकै गालीको वर्षा होस्।
उनको पोष्टमा गरिएका गालीका शब्दहरू आँखा खोलेर पढ्न सकिने खालका छैनन् तर पनि बाँस्कोटाको पोष्ट भने रोकिएका छैनन् बरू व्यंग्यात्मक शैलीमा उनीहरूलाई नै तीर हानिरहेका छन् उनी । संयोग के छ भने उनको भाषामा प्रधानमन्त्री केपी शर्मा ओलीकै शैली देखिन्छ। उस्तै उखान टुक्का र उस्ताउस्तै व्यंग्यवाणहरू ।
यो उनको एकघण्टा अघिको स्टाटस । यो स्टाटस उनीहरूले मात्र बुझछन् जसले सत्तारुढ नेकपाभित्रको राजनीतिक परिदृश्य बुझेका छन्।उनको यो तीर पूर्व माओवादीका नेतृत्व र पूर्व एमालेका विपरित गुटका नेताहरूतर्फ सोझिएको छ । कोरोना रोकथामका लागि चीनबाट ल्याइएको सामग्रीमा भ्रष्ट्राचार भएको समाचार बाहिरिनुलाई सत्तारुढ दलको एउटा खेमाले अर्को खेमाको प्रपन्च ठानिरहेको छ । बाँस्कोटाले तिनै खेमालाई टार्गेट गरेर यो तीर फ्याँकेका हुन् ।
बाँस्कोटाले शुक्रबार सात प्याराग्राफको एउटा लेख पोष्ट गरेका छन् जसमा उनले ८ ओटा प्रश्न गरेका छन् । लेखमा उनले जीवन जगतका कुरा गरेका छन्। कोरोना भाइरसले मानव जीवनमा पार्ने असरदेखि विकास निर्माणमा पार्ने प्रभावसमेतका कुराहरू उनले उल्लेख गरेका छन्। ‘नेपालमा गाउँलाई सहरले निल्दै गएको छ । अहिले कोरोनाले सामाजिक दुरी कायम गर्न हामीलाई बाध्य पारेको छ । यो महामारीपछि हाम्रो सामाजिक मुल्य र जीवनपद्धतिको मौलिकतालाई जोगाउन हामीले गर्नसक्ने काम केही हुनसक्छ कि सक्तैन ?’ उनले प्रश्न गरेका छन् । यावत चिन्तनका बीचपनि उनले आफ्नो असन्तुष्टि पोख्न भने यो स्टाटसमा पनि छुटाएनन्।
‘सत्यलाई लखेटने र लखेटिने क्रम चल्दै आएको छ । चल्दै पनि जाला । आफु नांगिएर अरुलाई नंग्याउने दाउपेच चल्दै गर्दा हामीले महामारीपछि अपनाउनुपर्ने बाटोबारे सोच्न, सुझाव दिन पनि ध्यान दिए राम्रै होला कि ?’ उनको व्यंग्यात्मक सुझाव छ। यति मात्रै होइन उनले थपेका छन्, ‘मैले यसो भन्दा प्रिअकुपाइड माइन्डसेट भएका र डीप फेकको सिकार बनेकाहरुले के भन्छन् भन्ने पनि मलाई थाहा छ । तर अध्यारोको राज सुर्य नझुल्किन्जेललाई मात्र हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीहरूका विषयमा चिन्ता व्यक्त गरेपछि उत्पन्न विवादमाथि उनले टिप्पणी गरे। ‘देशका राष्ट्रपतिले जनताको चासो लिनुपनि नाजायज हो भने जायज कुराको परिभाषा कस्तो हुन्छ होला ?’ उनको यो काउन्टर जिज्ञासामाथि कडा प्रतिक्रिया आउछ भन्ने उनलाई अग्रिम जानकारी छ, त्यसैले त अन्तिममा लेखेका छन्, ‘कतिपय मेरा परममित्रहरूलाई दिनभरकाे गरम मसला बन्ला ।’
राष्ट्रपतिले धार्चुलामा अलपत्र नेपाली, खाडीलगायतका मुलुकमा रहेका नेपालीप्रति एक शब्द पनि खर्च नगरी अमेरिकामा रहेका नेपालीप्रति मात्रै चिन्ता व्यक्त गरेको भन्दै आलोचना भैरहेको छ।
एकसाता अघिको यो पोष्टमा पनि उनले ‘प्रि-अक्पाई माईन्डसेट’ शब्द छुटाएका छैनन्। कवितात्मक शैलीमा लेखिएको स्टाटसमा उनले आफूलाई लाेकतन्त्रकाे सिमाना देखाई दिन आग्रह गरेका छन्।
विरोधी र विपक्षीलाई शब्दवाण प्रहार गर्न उनी खप्पिस छन्। नपत्याए उनको यो पोष्ट हेरौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको ५ (स) लाई उनले यसरी व्याख्या गरेका छन्। सडक, सदन, सामाजिक सन्जाल, सभा समाराेह र सार्वजनिक स्थानबाट कम्युनिष्ट सरकारमाथि हमला।
एक साता अघि पोष्ट गरिएको उनको एउटा स्टाटसमा पनि चोटिलो व्यंग्यवाण भेटिन्छ। उनले आफ्नो विपक्षीलाई शितकाे आयुसँग तुलना गर्दै भनेका छन्, ‘शितकाे आयु घाम नलाग्दासम्म मात्र हाे ।’ त्यस्तै उनले विश्व समुदायले कोरोना भाइरस नामको हलाहल विष पिउंदै गरेको भन्दै यो संकटको घडीमा निलकण्ठ बन्न आग्रह गरेका छन् ।





























प्रतिक्रिया