कोरोनाबाट विश्वभर १३ हजार ४८ जनाको मृत्यु, ३ लाख ७ हजार संक्रमित

कोरोनाबाट विश्वभर १३ हजार ४८ जनाको मृत्यु, ३ लाख ७ हजार संक्रमित

केन्द्रबिन्दु
0
Shares

जेनेभा ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमणबाट शनिबारसम्म १३ हजार ४८ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरण अनुसार संसारभर ३ लाख ७ हजार २७७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिमध्ये ९२ हजार ३७२ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १८६ भन्दा बढी देशमा देखा परिसकेको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार ३४५ जना सङ्क्रमित भएका थिए । चीनले अपनाएको उच्चतम सतर्कता, हुबई प्रान्तको राजधानी उहानसहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचार समेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा चार हजार ८२५ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ५३ हजार ५७८ जना सङक्रमित रहेको इटालीमा ६ हजार ७२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ५५६ व्यक्तिको मृत्यु भइसकेको छ भने २० हजार ६१० जना सङक्रमित रहेका छन् । ७ हजार ६३५ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ३८१ व्यक्तिको मृत्यु भएको छ । हाल २५ हजार ४९६ जना सङक्रमित रहेका छन् । शनिबार प्राप्त समाचार अनुसार २ हजार १२५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ८४ जनाको मृत्यु भएको छ भने २२ हजार ३६४ जना सङक्रमित रहेका छन् । उपचारपछि १८० जना घर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा २७५ व्यक्तिको मृत्यु भएको छ । हाल २६ हजार ७४७ जना सङक्रमित रहेका छन् भने १४७ जनाको उपचार गरिएको छ । फ्रान्समा ५६२ जनाको मृत्यु भएको छ । हाल १४ हजार ४८५ जना सङक्रमित रहेका छन् । दक्षिण कोरियामा १०२ जनाको मृत्यु भइसकेको छ भने ८ हजार ८९७ जनामा अझै पनि सङ्क्रमण छ ।

कोरोना भाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ८० जना, बेलायतमा २३३ जना, नेदरल्याण्ड्समा १३६ जना, बेल्जियममा ६७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म कम्तीमा २७० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पाँच जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कर्फ्यु” लागू गर्न र घरबाहिर कोहीपनि ननिस्कन आह्वान गरेको छ ।

दक्षिण एसियाली अन्य मुलुकहरु श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जना सङ्क्रमित देखिएका छन् । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन्, र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् ।

Logo