काठमाडौं ।
नोवेल कोरोना (कोभिड १९) भाइरस विश्वभर महामारीको रुपमा फैलिदै गएको छ । कोरोना भाइरस पत्ता लगाउने चिनियाँ डाक्टरदेखि बेलायती स्वास्थ्यमन्त्री समेत कोरोना संक्रमणबाट जोगिन सकेका छैनन् । सोमबारसम्म यसको संक्रमण १ सय ५८ देशमा फैलिसकेको छ । चीनबाट सुरु भएको कोरोना भाइरस पछिल्लो समय युरोपभर फैलिन थालेको छ । कोरोना संक्रमणबाट ७ हजार एक सय ४५ जनाको निधन भइसकेको छ । कोरोनाको प्रभावबाट बिरामी भएका विश्वका १ लाख ८१ हजार ८ सय मध्ये ७८ हजार ९८९ जना उपचारपछि घर फर्किएका छन् । को को छन् त कोरोना भाइरस पीडित हाइप्रोफाइलहरु ?
कोभिड १९ पत्ता लगाउने डाक्टरको निधन
कोभिड १९ अर्थात् कोरोना भाइरस पत्ता लगाउने चिनियाँ डाक्टर लि वेनलियाङको यसकै संक्रमणका कारण निधन भएको थियो । त्यस्तै चिनियाँ केन्द्रीय शहर वुहानको अस्पतालका निर्देशकको पनि कोरोनाकै कारण निधन भएको थियो ।
इटालीयन नगरका मेयरको निधन
नोवेल कोरोना भाइरसको संक्रमणबाट इटालीको चियेने नगरको मेयर गियोर्गियो भलोटीको निधन भएको छ । उनमा गत मार्च ७ बाट कोरोना भाइरसको लक्षण देखिएको थियो । कोरोना संक्रमण देखिएपछि उपचारका क्रममा उनको निधन भएको हो ।
इरानी सांसदको निधन
इरानी सांसद फातेमाह रहबरको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । इरानको अर्ध सरकारी समाचार संस्था तस्नीमले रहबरको कोरोना संक्रमणबाट निधन भएको पुष्टि गरेको थियो ।
कोरोना संक्रमित हाइप्रोफायलहरु
इरानी उपराष्ट्रपति, उपस्वास्थ्यमन्त्री एवं सांसद
इरानी उपराष्ट्रपतिलाई पनि कारोना भाइरसको संक्रमण देखिएको छ । इरानको एउटा सरकारी अखबारका अनुसार इस्लामिक रिपब्लिक इरानका उपराष्ट्रपति मसुमेह इबटेकरलाई कोरोना संक्रमण भएको पुष्टि हो ।
कोरोना भाइरसबाट संक्रमित हुनेमा इबटेकर इरानका सबैभन्दा शीर्ष अधिकारी समेत हुन् । त्यस्तै इरानका उपस्वास्थ्य मन्त्री इराज ह्यारिचीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । इरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै मन्त्री ह्यारिचीमा पनि भाइरसको संक्रमण देखिएको हो । इरानमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै ह्यारिचीले भाइरस नियन्त्रणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । त्यसैगरी इरानी सांसद महम्मद सादेघी पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
बेलायती स्वास्थ्यमन्त्री
बेलायती स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै क्वारेन्टाइनमा बसिरहेका छन् ।
क्यानडाका प्रधानमन्त्री पनि क्वारेन्टाइनमा
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो क्वारेन्टाइनमा बसेका छन् । पत्नीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टाइनमा बसेका हुन् । कोरोना भाइरसको कुनै लक्षण नदेखिएको भए पनि सुरक्षाका लागि १४ दिनसम्म उनी क्वारेन्टाइन बस्नेछन् ।
स्पेनी प्रधानमन्त्री पेद्रो पत्नी पनि संक्रमित
स्पेनी प्रधानमन्त्री पेद्रो सान्चजकी पत्नी बेगोना गोमजलाई नोवेल कोरोना (कोभिड १९) भाइरसको संक्रमण भएको पुुष्टी भएको छ । स्पेनी प्रधानमन्त्रीको कार्यालयले पेद्रो पत्नी बेगोनालाई कोरोना संक्रमण भएको जानकारी दिएको हो ।
ब्राजिलका राष्ट्रपतिका प्रेस सचिव पनि संक्रमित
ब्राजिलका राष्ट्रपति जेइर बोल्सोनारोका प्रेस सचिव फाबियो वज्नगार्टेनलाई पनि कोभिड १९ भाइरसको संक्रमण देखिएको छ । गत बिहीबार परीक्षण गर्दा उनमा कोरोना भाइरस भएको पुष्टि भएको थियो ।
हलिउड अभिनेता टम ह्यांक्स र रीटा विल्सन
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण चर्चित हलिउड अभिनेता टम ह्यांक्स र रीटा विल्सनमा पनि देखिएको छ । अस्ट्रेलियामा रहेका उनीहरूमा स्वास्थ्य परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ पाइएको थियो । अभिनेता ह्याक्सले आफू र आफ्नी पत्नीलाई कोरोना पोजेटिभ पाइएको बताएका हुन् ।
क्रिस्टियानो रोनाल्डो
विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोमा पनि कोरोनाको आशंका गरिएको छ । इटालीबाट हालै पोर्चुगल गएका उनलाई आफ्नैै घरमा क्वारेन्टाइनमा राखिएको हो । इटालियन राष्ट्रिय फुटबल टोलीका खेलाडी ड्यानियल रुगानी कोभिड १९ भाइरसबाट संक्रमित भएका छन् । रुगानी रोनाल्डोका सहकर्मी हुन् । रुगानीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि रोनाल्डोलाई पनि क्वारेन्टाइनमा राखिएको डेलीमेल अनलाइनले उल्लेख गरेको छ ।
स्पेनका फुटबल प्रशिक्षकको मृत्यु
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट स्पेनमा एक जना फुटबल प्रशिक्षकको मृत्यु भएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाको प्रकोपबाट स्पेनमा २१ बर्षिया फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो । गार्सियाले मालागा अवस्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमलाई प्रशिक्षण दिईरहेका थिए ।
१८० कोरियाली सैनिकको ज्यान गएको दाबी
कोरोनाकै कारण चीनको छिमेकी देश उत्तरकोरियामा १८० सैनिकको निधन भएको दक्षिण कोरियाली सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् । उत्तर कोरियाको सैनिक श्रोतलाई उदृत गर्दै दक्षिण कोरियाको डेली एनकेले कोरोना संक्रमणबाट ती सैनिकको निधन भएको जनाएको छ । उत्तर कोरियाली सैनिकलाई गत जनवरीमा कोरोना भाइरसको जस्तो लक्षण देखिने रोगका कारण उनीहरुको निधन भएको उल्लेख गर्दै फ्रेबु्रअरीमा झण्डै ४ हजारको हाराहारीमा सैनिकहरुलाई क्वारेन्टाइनमा राखेको दाबी समेत सो अनलाईनले गरेको छ ।































प्रतिक्रिया