नेपालमा अहिले गाँजा खेतीलाई प्रतिवन्ध लगाइएको छ । तर, पछिल्लो समय नेपालमा गाँजा खेतीलाई खुला गर्ने विषयले ठूलो चर्चा पाएको छ । गाँजा खेतीबाट मुलुकको अर्थतन्त्र सुध्रिन सक्ने भन्दै संघीय संसदमा यस सम्बन्धी विधेयक नै दर्ता भएको छ ।
गाँजा खुला गर्ने बहससँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाको नाम जोडिन्छ । किनकी यो बहसको थालनी खतिवडाले नै गरेका हुन् । उनले गाँजा खेती खुला गर्नुपर्ने विषयमा संसदमा धारणा राखेपछि यो विषयले चर्चा पाएको हो ।
यस विषयमा खतिवडाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता गराएका छन् । गाँजा खेती किन खुला गर्ने त ? प्रस्तुत छ, यसै विषयमा मकवानपुर क्षेत्र नम्बर २ का सांसद खतिवडासँग केन्द्रबिन्दुका समाचार संयोजक रामजी बलामीले गरेको कुराकानी:
गाँजा खुला गर्नुपर्छ भन्ने सोच कहाँबाट आयो ?
जुन बेला गाँजामा प्रतिवन्ध लगाइयो त्यतिबेला पनि म संसदमा सांसद थिए । विश्वका ठूला आर्थिक रुपमा सम्पन्न मुलुकहरु समेतले गाँजालाई प्रतिवन्ध लगाउने लहर चलेको थियो । त्यतिबेला नेपाल सरकारले त्यसको प्रतिबाद गर्न सकेन ।
परम्परादेखि नै आएको गाँजाको सकारात्मक पक्षलाई बुझाउन नसकेकाले गाँजा प्रतिवन्ध लगाए । तर, विश्वका धेरै देशहरुले किसानहरूको आम्दानीको स्रोत बनाएका छन । त्यसैले नेपालमा गाँजा उत्पादन गर्ने कुनै समस्या नरहेको र किसानका लागि आम्दानीको राम्रो स्रोत बन्ने भएकाले पनि गाँजालाई खुल्ला गर्नुपर्छ भनेर संसदमा विधेयक पेश गरेका छौं । यसरी किसानले उत्पादन गरेको गाँजा विशेष गरी औषधिक लागि प्रयोग हुन्छ । मलाई लाग्छ २५ सय प्रकारका औषधिमा प्रयोग हुन्छ । ३ सय प्रकारका औषधिमा त अझ धेरै मात्रामा प्रयोग हुने गरेको पाइएको छ ।
अहिले अमेरिका, युरोप, जर्मनी, क्यानडा, एसियाका धेरै देशहरुमा गाँजाबाट आम्दानी गरिरहेका छन । नेपालमा प्रकृतिकरुपमा नै उत्पादन हुन्छ । हजारौ सालदेखि नै हाम्रा पुर्खाले विज्ञानले प्रमाणिकरण गर्ने भन्दा पनि व्यवहारले प्रमाणित गरेर देखाएका छन । केही समय केही डलरको लोभमा वा कसैको दवावमा प्रतिवन्ध भएको हुनुपर्छ ।
पहिलेदेखि नै मैले सुनेअनुसार अहिले विश्वका ६५ भन्दा बढी देशहरुले गाँजालाई आफ्नो किसानको आयआर्जनको स्रोत बनाएका छन् । यसरी आर्थिक रुपमा सम्पन्न देशले त यसलाई आम्दानीको स्रोतको रुपमा गाँजा खेती गरिरहेको छ । नेपाल जस्तो गरिब देशमा आम्दानीको स्रोत हुदाँहुदै प्रतिवन्ध लगाएर गाँजा खेती गर्दैमा जेल जानुपर्ने यो सामाजिक न्याय भएन ।
त्यसैले अहिले विश्वमा नै यसको ‘ट्रेन्ड’ आएको बेलामा नेपालले पनि खुल्ला गर्न सक्नुपर्छ । गाँजा खुल्ला गरेर आम्दानीको स्रोत बनाउनु पर्छ । नेपालको अहिले गाँजा सम्बन्धी रहेको कानुनलाई संशोधन गरी किसानको आयआर्जनको स्रोत र देशको लागि विदेशी मुद्रा आर्जन गर्ने वातावरण बनाउनु पर्छ ।
सरकारले तोकेका जिल्ला, गाँउ वा कुनै पनि निश्चित क्षेत्रमा उत्पादन गर्ने हो । यसको बिक्रि वितरणको वातावरण पनि सरकारले नै गर्छ । उत्पादन भएको कच्चा पर्दाथलाई नेपालमा नै प्रशोधन गरेर पठाउने वा प्रशोधन गर्ने मेसिन सरकारले स्थापना गर्ने कि मल्टीनेशनल कम्पनीहरुलाई नेपालमा नै आमन्त्रण गर्ने सरकारले व्यवस्था गर्नुपर्ने हुन्छ ।
विश्वका ६५ ओटा देशले उत्पादन गरिरहेका छन् उनीहरुले आफ्नो क्षेत्र पनि विस्तार गरिरहेका छन् भने नेपालको विक्रि नहुने भन्ने हुँदैन ।अर्कोकुरा डब्लुएचओले पहिले यसलाई लागुऔषधको सूचीमा राखेको थियो भने अहिले यसलाई औषधिजन्य वनस्पतिको सूचीमा राख्ने निर्णय गरेको छ । विकसित र सम्पन्न मुलुकहरुले गाँजा खेती गरेर आफ्नो मुलुकको आयआर्जन बढाइरहेको बेला हामीले पनि आफ्नो देशको आयस्रोतलाई बढाउनुपर्छ भनेर हामी यो अभियानमा लागेका हौँ ।
संसदमा गाँजा सम्बन्धी विद्येयक दर्ता भएको छ । प्रक्रिया कहाँ पुग्यो ?
संसदमा आफ्ना प्रस्तावहरु दर्ता गर्ने प्रक्रिया फरक हुन्छन । यसमा विभिन्न विषय छन् । जस्तो प्रश्न उत्तर । संसदमा तत्काल सोधे जस्तो देखिन्छ तर हामीले प्रश्न पहिले नै प्रश्न दर्ता गरेका हुन्छौ । त्यसपछि ध्यानाकर्षणको प्रस्ताव दर्ता, सार्वजनिक महत्व, संकल्प र प्राइभेट विद्येयक दर्ता हुन्छ । यसो गरेपछि संसदले सरकारलाई जानकारी दिन्छ । सरकारले विभिन्न चरणमा छलफल गर्छ र एउटा निर्णय लिएर अगाडि बढ्छ । अहिले यो एउटा ध्यानाकर्षणमात्र गरेको हो । संसलमा छलफलको विषय बनाएर सरकारले एउटा वातावरण बनाउँछ ।
यस सम्बन्धी प्रस्ताव प्रदेशसभामा पनि दर्ता भएको छ । यसलाई कसरी लिनुहुन्छ ?
यो सबै स्थानीय तहदेखि केन्द्रसम्मका माननीयहरुले तथा मिडिया सबैले यसको पक्षमा जनमत हो । हाम्रो कानुनी र संविधानको प्रावधान अनुसार केन्द्रिय कानुनसँग बाँझिने गरी प्रदेशहरुले कानुन बनाउन पाउँदैनन् । त्यसकारणले अहिले हामी जे विषयमा कुरा गरिरहेका छौँ, यो संघीय संसद र केन्द्रिय सरकारसँग गाँसिएको कुरो हो । जब यसले आफ्नो ‘पोजिसन क्लियर’ गर्छ, तब प्रदेशहरुले पनि त्यही अनुसार अगाडि बढ्नुपर्ने हुन्छ । प्रदेशले संघीय संसद र केन्द्रिय सरकारलाई उछिनेर कुनै पनि निर्णय लिन सक्दैन ।
यो विषयमा प्रतिपक्षबाट व्यक्तिगतरुपमा कस्तो खालको सल्लाह सुझव पाउनुभएको छ ?
संसदमा सबैको समर्थन छ । बिरोध गर्ने एक दुईजना हुन सक्छन् । तर बिरोध गरेको मैले सुनेको छैन । अहिले सबै राजनैतिक दलका संसदहरुले समर्थन गरेका छन । कोही पनि विपक्षमा छैनन् । संसदमा ९० प्रतिशतभन्दा बढीको समर्थन छ ।
गाँजा खुला गर्दा समाज बिग्रन्छ भन्ने कुरा आइरहेको छ नि ?
सबै कुराको राम्रो र नराम्रो पक्ष हुन्छ । हरेक कुराको गुण र अवगुण हुन्छ । पहिलो कुरा यो कुन उद्देश्यले गरेको हो भन्ने कुरा प्रष्ट हुनुपर्छ । अर्को कुरा कानुन उल्लङ्घन नगर्ने समाज विश्वमै छैन । भ्रष्टाचार गर्न पाईंदैन भनेर लेखिएको कानुनमा ‘गरेमा’ भन्ने पनि लेखिएको पाइन्छ । यसका लागि कानुनी प्रावधान राख्नु पर्छ । त्यसैले विभिन्न सीमा राखेर अगाडि बढेमा राम्रो नै हुन्छ ।
अमेरिकाले नेपालमा गाँजा बन्द गर्न दवाव दिएको थियो भनिन्छ तर अहिले अमेरिकामा नै गाँजा खुल्ला थालेको छ । यस विषयमा के भन्नु हुन्छ ?
गाँजा बन्द गर्ने बेलामा अमेरिका र नेपालको हितैसी सम्बन्ध थियो । त्यतिबेला अमेरिकाका नागरिक नेपालमा आएर बरालिएर बिग्रिए भनेर उनीहरुका परिवारले दवाव दिएका हुन सक्छन । सामान्यतया जुन देशसँग जे छ त्यही नै बेच्ने हो । तेल हुनेले तेल बेचिरहेका छन । सुन हुनेले सुन । उनीहरुले गाँजाको महत्व बुझेका होलान् । पहिले जानेर वा नजानेर लागुऔषधमा राखे पनि अब उनीहरुले नै आम्दानीको रुपमा खुल्ला गरेपछि हामीले पनि खुल्ला गर्नु पर्छ भनेर हामी लागेका हौ ।
विद्येयक दर्ता गर्दै पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले ८० प्रतिशत युवा विदेशबाट फर्कन्छन् भन्नु भयो । विश्वस्त हुनुहुन्छ ?
अब यसमा प्रतिशत नै भन्दा चाँहि ९० भन्दा पनि भयो । ५० भन्दा पनि भयो । हामीले यो विषयमा अनुसन्धान गरेका छैनौ । जे होस् यसले वैदेशी रोजगारीमा जाने सख्या घटाउछ । किनकी विदेशमा कमाएको ८/१० वर्षको आम्दानी आफ्नै गाँउघरमा बसेर दुई चार वर्षमा नै गर्छ । अनि खल्तीमा दुई चार लाख नबोक्ने कोही हुदैन्न । भने किन जानु पर्यो ऋण खोजेर विदेश । त्यसैले स्वदेशमा नै रोजगारीको सिर्जना हुन्छ ।
यस्तै खालका सोचहरु अरु पनि छन् कि ?
सोचहरु त हुन्छन् नै । जस्तै हामीले कोदोको सदुपयोग गर्यौं भने अन्तर्राष्ट्रिय ब्राण्ड बन्न सक्छ । तामाङहरुले कोदोबाट उत्पादन गरेको रक्सी अन्तर्राष्ट्रियस्तरमै उत्कृष्ट हुन्छ । खोज्दै जाँदा यस्ता कुराहरु धेरै भेटिन्छन् ।
यदि यो विधेयक पारित भएन भने के हुन्छ ?
म त्यस्तो नकारात्मक परिकल्पना गर्न सक्दिन । दुई तीन दशकदेखि दिमागमा यो लागुऔषध मात्र हो भन्ने घर बनेको हुनाले यसको सकारात्मक पक्षहरुको सोच आइरहेको छैन । विकसित र सम्पन्न मुलुकहरुले गाँजा खेती गरेर आफ्नो मुलुकको आयआर्जन बढाइरहेको बेला समयमै गाँजा फुकुवा भएन भने सिँगो देशलाई असर पर्छ र पछि पछुतो हुने अवस्था सिर्जना हुन्छ ।
विस्तृत अन्तर्वार्ता भिडियोमा































प्रतिक्रिया