‘कोरोनाले पर्यटन व्यवसाय धरापमा परेको छ’ : खुमबहादुर सुवेदी, अध्यक्ष (टान)

‘कोरोनाले पर्यटन व्यवसाय धरापमा परेको छ’ : खुमबहादुर सुवेदी, अध्यक्ष (टान)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको प्रकोप अहिले ११९ भन्दा बढी देशमा देखा परेको छ । यसको प्रभावले विश्वको अर्थतन्त्रमा ठूलो संकट सिर्जना गरेको छ भने नेपाल पनि यसबाट अछुतो हुन सकेको छैन । कोरोनाको प्रभावले नेपालको आर्थिक क्षेत्रमा अझ बढी संकट आउने देखिन्छ । विशेष गरी नेपालको पर्यटन क्षेत्र प्रभावित भएको छ । नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य समेत प्रभावित बनेको छ । यसले गर्दा पर्यटन व्यवसाय धरापमा परेको छ । यस्तो अवस्थामा पर्यटन व्यवसायमा कोरोनाले परेको प्रभाव तथा सरकारले पर्यटन क्षेत्रमा गर्नु पर्ने कामका विषयमा पर्यटन व्यवसायी एवं ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीसँग केन्द्रविन्दुका संवाददाता अनिस मिजारले गरेको कुराकानी :

१.पर्यटन व्यावसायमा कोरोनाको प्रभाव पछिको अवस्था कस्तो छ ?
अहिले कोरोनाको प्रभाव नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा नै परेको छ । यसको प्रभावले नेपालको प्रर्यटन क्षेत्रमा नकारात्मक असर पारेको छ । विशेषगरी होटल, रेष्टुरेन्ट, एयरलाइन्स, हेलिकोप्टर, ट्रान्सपोर्टेसनमा बढी प्रभाव परेको तथा यसमा अझै असर पर्ने देखिएको छ भने अहिले ट्राभल, ट्रेकिङ व्यवसाय पनि अछुतो रहेको छैन । अहिले नेपाल भ्रमण वर्ष २०२० मनाउन खोज्दै गर्दा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा पर्यटक नेपालमा भित्रने मौसमको मुखमै आएर व्यावसायीहरुको ओठ मुख सुकेको अवस्था रहेको छ ।

२.पर्यटन क्षेत्रको यस्तो अवस्थालाई सुधार ल्याउन के गर्ने तयारीमा हुनुहुन्छ ?
अहिलेको यो अवस्था भनेको कसैले सिर्जना गरेको समस्या होइन । यो एउटा विश्व व्यापीरुपमा फैलिएको संक्रमण हो । त्यसैले हाम्रो व्यवसायमा परेको असरलाई पहिलाकै अवस्थामा ल्याउनको लागि कोरोनाको सङक्रमणबाट बिचल्लीत नभइ आन्तरिक पर्यटकको प्रवन्र्धनमा लाग्नु पर्ने हुन्छ । हामीले अब सेप्टेम्बर र अक्टोबरको समयमा पर्यटक भित्र्याउने योजना बनाउनु पर्ने हुन्छ । यसको लागि आन्तरिक रुपमा प्रचारप्रसारको लागि तयारी अवस्थामा बस्ने र कोरोना भाइरसको संक्रमण सकियो भन्ने बित्तिकै नेपाल सुरक्षित छ भनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट प्रचारप्रसार गरी पर्यटक भित्र्याउने योजनामा लाग्नु पर्ने हुन्छ ।

३.यस्तो अवस्थामा सरकारले चाहिं पर्यटन क्षेत्रमा के गर्नु पर्ला ?
हामी पर्यटन व्यावसायीहरुले यसो गरी रहँदा नेपाल सरकारले भौतिक पूर्वाधारको विकास गरिसक्नु पर्ने हुन्छ । जस्तै एयरपोर्टको पूर्णरुपमा सुधार, वातावरणीय प्रदुर्षणमा रोक, पूर्णरुपमा हवाई व्यवस्थापन, विभिन्न भाषागत पर्यटक गाइड पनि तयारी बनाउने तथा सम्पूर्ण मेनपावरहरुलाई अडाउन सक्ने र होटल, रेष्टुरेन्ट, एयर लाइन्सहरुले बैंकबाट लिएको ऋणमा ६ प्रतिशत मात्र ब्याजदर कायम सरकारले गर्नु पर्ने हामी व्यावसायीको माग रहेको छ । साँच्चै सरकारले पर्यटकलाई महत्व दिने हो पर्यटनको महत्व छ र नेपालमा यो आवश्यक देखिन्छ भनेर सरकारले सुन्न जरुरी रहेको छ ।

४.कोरानोबाट बच्नको लागि तपाईंहरुले के पहल गर्नु भएको छ ?
हामीले भन्दा पनि यो सरकारले पहल गर्नु पर्ने हुन्छ । सरकारले यसलाई होसियारीका साथ आफ्ना गतिविधि बढाउनु पर्ने हुन्छ । यसमा हामी व्यावसायीले पनि सर्तकता अपनाउन पनि भनेका छौं । यसमा अझ सरकारले नेपालीको स्वास्थ्यमा असर पर्छ भनेर हवाई उडान बन्द गर्ने वा विभिन्न नाका बन्द गर्नु पर्छ । सरकारले फरकफरक नीति बनाएर होइन एउटै नीति बनाएर पर्यटन व्यावसायीलाई समेत थाहा हुने गरी अगाडी बढाउनु पर्छ । यसमा हामी सहयोग गर्छौं ।

५.आन्तरिक पर्यटक बढेमा पनि व्यवसायमा केही राहत आउँछ र ?
निश्चित पनि केही राहत हुन्छ । तर अहिले कोरोनाको प्रभावले कोही पनि बाहिर निस्कन डराइरहेको अवस्था छ । हामी पनि आन्तरिक पर्यटकको रुपमा कतै जाँदैनौं अनि कसरी हुन्छ । अब हामीले कोरोनाबाट डराएर हुँदैन उच्च मनोबल बनाएर आन्तरिक पर्यटनमा बृद्धी गर्न सकेमा मात्र पनि केही हुने देखिन्छ ।

Skip This
Skip This
Logo