नेपालसहित १३ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिवन्ध

नेपालसहित १३ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिवन्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर नोवेल कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण फैलिएसँगै कतारले नेपालसहित अन्य १३ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाएको छ । कतारले अस्थायी रोक लगाएका देशमा नेपाल, चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्याण्ड रहेका छन् ।

त्यस्तै नेपालमा पनि कोरोनाको संक्रमण फैलिनसक्ने भन्दै कैलालीको टीकापुर नगरपालिकाले अत्यावश्यक काममा मात्र भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ । नगर विपद् व्यवस्थापन समितिले भारतमा कोरोना भाइरसको संक्रमण देखिएकाले नेपाल पनि उच्च जोखिममा रहेको भन्दै नेपाली नागरिकलाई अत्यावश्यक काम बाहेक किनमेल जस्ता सामान्य कामका लागि भारत नजान आग्रह गरेको हो ।

त्यस्तैगरी नेपालबाट अष्ट्रेलिया अध्ययनका लागि पूगेका एक नेपालीमा कोरोना भाइरस भेटिएको छ । फेब्रुअरी २६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका २० वर्षे एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको हो । अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले उनको संक्रमणबारे पुष्टि गर्दै आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् । अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूका अनुसार ती विद्यार्थी फेब्रुअरी २६ तारिखमा नेपालबाट सिंगापुर र सिड्नी हुँदै अष्ट्रेलियाको होबार्ट आइपुगेका थिए ।

त्यस्तै पुरुषको तुलनामा महिला र बालबालिकामा कोरोना भाइरसको खतरा कम देखिएको छ । कोरोना भाइरस संक्रमितको मृत्यु सम्बन्धी तथ्याङ्कमा महिला र बालबालिकाको संख्या पुरुषको तुलनामा निकै कम पाइएको हो ।

‘चाइनिज सेन्टर्स अफ डिजिज कन्ट्रोल’ले गरेको अध्ययनले यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो । अध्ययनको दायरामा कोरोना भाइरस संक्रमित ४४ हजारलाई राखिएको थियो । जसमा २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको मृत्यु भएको पाइएको थियो ।

उमेरको आधारमा विश्लेषण गर्दा ०.२ प्रतिशत बालबालिका तथा किशोरको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको तथ्याङ्कले देखाउँछ भने ८० वर्षभन्दा बढी उमेर समूहका १५ प्रतिशत संक्रमितको मृत्यु भएको देखिन्छ ।

त्यस्तै विश्व स्वास्थ्य सङ्गठनले आइतबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका एक सय १ मुलुकमा फैलिइसकेको छ । विश्वभर संक्रमण हुनेको संख्या एक लाख पाँच हजार आठ सय ३६ पुगेको छ भने यसका कारण तीन हजार आठ सय २७ जनाको निधन भइसकेको छ ।

Logo