- अनिस मिजार-
काठमाडौं- कोरोना भाइरस सङक्रमणको त्राससँगै बजारमा मास्कदेखि खाना पकाउने ग्याससम्मको कृतिम अभाव सिर्जना भएको छ ।
कोरोना भाइरस संक्रमणबाट जोगिन नेपालले प्रयास गरिरहेको मौका छोपेर व्यापारीहरुले बजारमा औषधिजन्य सामग्री मास्क, ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर, हात धुने सेनेटाइजर तथा खाना पकाउने ग्यास र पट्रोलियम पदार्थमा समेत व्यापारीहरुले कृतिम अभाव सिर्जना गर्न थालेको देखिएको छ ।

बिहीबार जिल्ला प्रसासन कार्यालय काठमाडौंले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भिडभाड भएका ठाउँमा नजान अनुरोध गर्दै सूचना जारी गरेको छ । सामाजिक सञ्जालमा पनि कोरोना भाइरस संक्रमणको भयबारे आएका खबरले सर्वसाधारण जनता आत्तिएको मौका छोपेर बजारमा यी सामानको कृतिम अभाव सिर्जना गर्न सुरु भएको हो ।


यता, कालोबजारी अनुगमन गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तिव्रता दिएको र अहिलेसम्म उपत्यकाका ६० भन्दा बढी औषधी पसल र गुनासाका आधारमा खाद्यान्न, ग्यास डीपोहरुमा समेत अनुगमन गरी कसुर अनुसार कारबाही गरेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।



उनका अनुसार अहिलेसम्म विभागले बजारमा मास्क अभाव भएको गुनासो धेरै आएपछि बजार अनुगमनका क्रममा बुधबार र विहीबार गरी काठमाडौंको क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्स, आईज्याक हस्पिटेक सर्जिकल र वीर हस्पिटलको आयुष फार्मेसीलाई दुई/दुई लाख रुपैयाँ जरिवाना गरेको छ । उनले भने ‘विभागले यस्तो गर्ने कसैलाई पनि नछाड्ने र नियमित रुपमा अनुगमन गरिरहन्छौं ।’
अहिले नेपालमा त्रसित हुनु पर्ने अवस्था छैन र नेपालमा ६ महिनालाई पुग्ने गरी खाद्यान्नदेखि ग्याससम्म स्टक रहेको उनको भनाइ छ ।


यस्तै, अहिलेसम्म बिलबिना नै महँगोमा मास्क बिक्री गरेको आरोपमा सचिन ट्रेड कन्सर्न र आर एम फार्मेसीलाई १० हजार र त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्स, एस जे मेडिको सर्जिकललाई २० हजार रुपैयाँ जरिवाना तिराइएको तथा अन्य फर्मलाई सचेत गराइएको विभागले जनाएको छ । काठमाडौँका फार्मेसी पसलहरूमा मास्क नभएको सूचनाहरू राखिएको देखिन्छ ।


विभागले त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । यी विक्रेताले पनि बिलबिना नै महंगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेका थिए । नेपाल आयल निगमले इन्धनको आपूर्तिमा कुनै समस्या नरहेको र अभाव हुन नदिने बताइरहेको बेला कोरोनाको त्रास देखाउँदै एकातिर कृतिम अभाव गर्न थालिएको छ भने अर्कोतर्फ कोरोना संक्रमणले संकट निम्तिन सक्ने भयले दैनिक उपभोग्य वस्तु भण्डारण गर्न थालिएको देखिन्छ ।

अहिले औषधि पसलमा मास्क र औषधि लिन भिड भाड लागेको छ । किराना पसल, ग्यास डिपो र पेट्रोल पम्पमा उपभोक्ताहरुको लाइन लाग्न थालेको छ ।कोरोनाको संक्रमणको अवस्था थाहा पाउन ज्वरो नाप्नैपर्ने चिकित्सकहरूले बताएपछि राजधानीका अस्पताल र नर्सिङहोमहरूले प्रयोग बढाउँदा व्यवसायिक प्रतिष्ठान र शैक्षिक संस्थाहरूले पनि आफ्नो प्रवेशद्वाारमा इन्फ्रारेड थर्मोमिटरबाट जाँच अनिवार्य गरेकाले पनि व्यक्तिगत प्रयोगका लागि खरिद गर्न चाहनेहरूले इन्फ्रारेड थर्मोमिटर खरिद गर्न पाएका छैनन् ।

डेढ महिना अघिसम्म प्रतिवटाको १३०० मा बिक्री भइरहेको उक्त थर्मोमिटरलाई अहिले अभाव देखाएर व्यवसायीले ४ हजारदेखि ७ हजार रुपैयाँमा बिक्री गरिरहेका छन् । जति परेपनि किन्न तयार भएको बजारको माग देखेर व्यवसायीले आफूखुसी मूल्यमा बेचिरहेको गुनासो ग्राहकको आएको छ । बजारमा ह्याण्ड सेनिटाइजर, मास्क र इन्फ्रारेड थर्मोमिटर बेच्नेहरूले मनपरी मुल्य असुलिरहेका छन् ।
बजारमा ग्यास तथा पेटोलियम पदार्थको कृतिम अभाव बनाएर उपभोक्ताहरु लाइन बसेका छन् ।































प्रतिक्रिया