काठमाडौं । नेपाली बैंक तथा वित्तीय संस्थाहरूले सूचना प्रविधिमा प्रयाप्त लगानी नगरेकै कारण प्रविधिका कमजोरी पक्ष को फाइदा उठाउँदै बैंकिङ प्रणालीमा कयौँ ह्याकिङका घटना भएका छन् ।
घटना भइसकेपछि बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकाय नेपाल राष्ट्र बैंक तथा प्रहरी प्रशासन निकै सक्रिए भएको देखिन्छ । साथै सरकारले यसप्रति विशेष चासो राखेको देखिन्छ । तर घटना नभएका बेला भने संबन्धित सबै निकाय निष्कृय जस्तै छन् । गत भदौ असोजतिर निकै सल्बलाएका बैंकिङ प्रणालीका ह्याकरहरू यतिबेला सल्बलाएका छैनन् । जुन रुपमा ह्याकरहरू शान्त छन्, त्यही रुपमा नियमनकारी पनि निष्कृय हुने गरेका छन् । तर राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी भने यो कुरा मान्न तयार छैनन्–‘हामीले बैंकलाई पटक पटक भनेकै छौँ त प्रविधिमा लगानी बढाउनु भनेर ।’ विश्वासमा अहिले नयाँ नयाँ प्रविधि आइरहेका छन् । ती प्रविधिका कमजोरी पक्ष केलाउँदै त्यसको दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । त्यसैले यस्तो समस्याबाट बच्न प्रविधिमा लगानी गर्नुका साथै बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरूलाई पनि प्रविधि संबन्धी तालिम दिन निर्देशन दिएको डेपुटी गभर्नर शिवाकोटीले बताए ।
ह्याकिङ घटनाका शृंखलाहरू
महानगरीय प्रहरी परिसर टेकुका अनुसार गत मंसिर ८ गते अन्जन बरालको नेतृत्वमा चेकमा नक्कली हस्ताक्षर गरेर जनता बैंकमा रहेको १९ लाख ९९ हजार रुपैँया चोरी गरेका छन् । व्यवसायी गोपालमान राजबाहकको मोबाइलमा प्रहरीको नामबाट मोबाइल ह्याक भएको र अनुसन्धान गर्न आधा घण्टा मोबाइल अफ गर्न भन्दै उनकै खताबाट रकम चोरी गरिएको थियो । प्रहरीले घटनामा संलग्न बाग्लुङ गलकोटका २५ वर्षीय सुमन पौडेल, काभ्रेपलान्चोकका १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अन्जान बराल, र सिन्धुपाल्चोकका ३० वर्षीय गोविन्द गिरीलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूबाट एनआइसी एसिया बैंकको ८२ थान एटिएम, अन्य बैंकका ७ थान एटिएम, विभिन्न व्यक्तिका ८ सय २५ थान फोटो, विभिन्न व्यक्तिका नामा रहेका ३२९ थान चेक, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २ सय ९० थान र बैंकसँग संबन्धित डकुमेन्ट २ बोरा बरामाद गरेको थियो ।
त्यस्तै, गत असोज ७ गते कृषि विकास बैंककै कर्मचारीको मिलेमोतोमा लहानबाट बैंकिङ प्रणाली ह्याक गरेर करिब २ करोड रुपैयाँ चोरीको भएकोे थियो । सो चोरी प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेको थियो । त्यस्तै, गत भदौ १४ गते पनि चिनियाँ ह्याकरहरूले बैंकिङ प्रणालीबाट ठूलो रकम लुटे । ह्याकरले नबिल बैंकको नक्कली एटिएमबाट करिब डेढ करोड रुपैयाँ चोरी गरेका थिए । चिनियाँ ह्याकरहरूले नेपालका ७ वटा बैंकका विभिन्न कार्डहरू प्रयोग गरी १७ वटा बैंक एटिमबाट १ करोड ८९ लाख ४४ हजार ५ सय चोरी गरेको प्रहरीले जनाएको छ ।
ह्याकरले भारतमा पनि नेपालका ६ वटा बैंकको कार्ड प्रयोग गरी २४ बैंकका १३२ एटिएमबाट १ करोड ५ लाख ८७ हजार २ सय चोरी गरेको तथ्यांक प्रहरीसँग छ । प्रहरीले घटनामा संलग्न पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । त्यस्तै, गत असार ७ गते राष्ट्रिय वाणिज्य बैंकको एटिएम पनि ह्याक गरेर २० लाख रुपैयाँभन्दा बढी रकम चोरी भएको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न तीन जना रोमानियाली र एक नेपालीलाई पक्राउ परिसकेका छन् । त्यस्तै, २०७३ माघमा नेपाल इन्भेस्टमेन्ट बैंक धनगढी शाखाबाट कर्मचारीकै मिलेमतोमा २३ लाख रुपैयाँ चोरी भएको थियो । २०७४ कार्तिक ३ गते एनआइसी एसिया बैंकको स्विफ्ट ह्याक गरी ४६ करोड रुपैया चोरी गरिएको थियो । ह्याकरले सो रकम जापान, चीन, टर्की, जर्मन, हङकङ र अमेरिकालगायतका मुलुकहरूका विभिन्न खातामा पठाइएको थियो ।
के भन्छ प्रहरी
ह्याकिङ संबन्धी पूर्व जानकारी प्रहरीलाई हुँदैन । त्यसैले घटना भइसकेपछि मात्रै प्रहरीले अनुसन्धान थाल्ने हो । बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग गरेर ठूलो रकम चोरी गर्ने प्रवृत्ति बढेकाले नयाँ प्रविधिको प्रयोग गर्न तथा बैंकमा प्रयोग गरिने सीसी क्यामेराहरूलाई बढी सक्रिय बनाउन राष्ट्र बैंकलाई सुझाव दिएको परिसर प्रवक्ता होविन्द्र बोगटीले बताए– ‘घटना हुनुभन्दा पहिले हामी केही गर्न सक्दैनौँ, प्रविधिको अपडेट नै बच्ने मुख्य उपाय हो ।’





























प्रतिक्रिया