महोत्तरी ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कोही पनि सुकुम्बासी, भूमिहिन अन्यायमा नपर्ने बताएकी छिन् । महोत्तरी जिल्ला गौशाला नगरपालिकास्थित निगोन गाई गौशालाको नाममा रहेको सरकारी जग्गा फिर्ता गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
कुनैपनि सुकुम्बासीलाई बिस्थापित नगर्ने भन्दै सबैको व्यवस्थापन सरकारले गर्ने उनको भनाई थियो । हामी भूमिहिन, सुकुम्बासीको समस्या समाधान गर्न अगाडी बढेका छौं, मन्त्री अर्यालले भनिन् ‘यसको व्यवस्थापन सरकार आफैंले गर्छ । त्यसैले कोही सुकुम्बासी अन्यायमा पर्नुहुदैन । सुकुम्बासीलाई बिस्थापित गर्दैनौं अरू व्यवस्थापन गर्छौं ।’
मन्त्री अर्यालले अतिक्रमित सरकारी र सार्वजनिक गुठीको जग्गा फिर्ताको अभियानलाई तिब्रता दिएकी छिन् । सोहीक्रममा मन्त्री अर्यालले महोत्तरी जिल्लास्थित गौशाला नगरपालिका वडा नम्बर ५ निगौन गाई गौशालाको नाममा रहेको अतिक्रमित जग्गा सरकारको नाममा फिर्ता गराएकी छिन् ।
गौशालाको नाममा रहेको १४८ विघा सरकारी जग्गामध्ये करिब १५ कट्ठा जग्गामा बनाइएको ३० वटा घर टहरा भत्काइएको थियो । उक्त कार्यक्रममा मन्त्री स्वयं उपस्थित भएर सरकारको जग्गा संरक्षण गर्ने अभियान अन्तर्गत घरटहरा भत्काउने कार्यक्रमलाई सम्बोधन समेत गरेकी थिइन् ।
महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यकहादुर खत्री, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो, शसस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका निमित्त प्रमुख प्रहरी ठाडा मगर, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी माधवप्रसाद पुडाशैनी, स्थानीय तहका नेताहरु लगायतको उपस्थितीमा उक्त स्थानका घरटहरा भत्काइएका हुन् ।
सरकारी जग्गा फिर्ता गराउँदै मन्त्री अर्यालले यदि कसैले किनबेच गरेको नाममा पैसा बुझाएको भए जसलाई बुझाएको हो उसैसँग फिर्ता माग्न समेत आग्रह गरेकी छिन् । जग्गा सरकारको हो, त्यसैले हामीले जग्गा फिर्ता गराएका हौं । हामीले कसैसँग एक रुपैयाँ लिएका छैनौं, मन्त्री अर्यालले भनिन् ‘यदि कसैले किनबेच गरेको नाममा पैसा बुझाएको भए जसलाई बुझाउनु भएको छ उसैसँग फिर्ता लिनु ।’
गत वर्ष नै यो समस्याको समाधान गर्न सरकारले प्रयत्न गरेको भन्दै उनले त्यहाँ बसेका नागरिकको आग्रहमा नै समय दिइएको भएपनि हालसम्म जमिन नछाडेका कारण सरकार बाध्य भएर आफैं अगाडी बढेर जग्गा फर्काउनु परेको बताइन् । हामीले गत साल नै यो समस्या समाधान गर्न खोजेका थियौं । हजुरहरुले समय माग्नुभयो र धैर्यता गर्यौं । आजसम्म ठाउँ छाड्नु भएन, मन्त्री अर्यालले भनिन्, थप सचेत बनायौं । सार्वजनिक अपिल गर्यौं । समय दिएर सूचना टाँस्यौं । पत्र थमायौं । यति गर्दा पनि तपाईंहरु नहटेपछि हामी आफैं आएर हटाउन थाल्यौं ।
राष्ट्रिय सहकारी विकास वोर्डको व्यवस्थापन र सञ्चालनमा रहेको निगौन गाई गौशालाको जग्गामा विभिन्न व्यक्तिहरुले पटकपटक अतिक्रमण गर्दै आएका थिए ।





























प्रतिक्रिया