पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रधानमन्त्रीको आह्वान

पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रधानमन्त्रीको आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न सङ्गठित प्रयत्नविरुद्ध एकताबद्ध हुनका लागि कार्यकर्तालाई आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै उनले अहिले बाहिर आएको अडियो टेप प्रकरण पार्टी, सरकार र नेताको चरित्र हत्या गर्न सङ्गठित प्रयास भएको बताए।

‘‘आरोप सत्य हो कि होइन भनेर हामीले हेर्नुपर्छ । कसैले २० करोड खाको भन्छ, कसैले भन्छ घुस माग्यो । यदि आरोप सत्य हो भने ऊ सजायँको भागीदार हुन्छ’’ उनले भने, ‘‘ होइन भने त्यसको खण्डन दृढताका साथ गरिन्छ ।’’ उनले कम्युनिष्ट पार्टीको आचरण र आदर्श भ्रष्ट हुँदैन भन्दै कोही भ्रष्ट भएमा त्यसलाई कारवाही गरिने स्पष्ट पारे ।

उनले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा अडियो टेप प्रकरण अनधिकृत ढङ्गले आएको बताए । ‘‘मेरो बारेमा प्रश्न उठेको हुनाले गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिन्छु भनेर राजीनामा दिनुभएको हो । मैले राजीनामा स्वीकृत गरेँ’’, उनले भने, ‘‘ उहाँले यो टेप मेरो होइन भनिरहनु भएको छु । म न्याय खोज्छु भन्नु भएको छ । स्वीस राजदूतावासले पनि उसको प्रतिनिधि होइन भनेर भनेको छ । त्यसको कुनै सत्यता पुष्टि भएको छैन । त्यसकारण उक्त टेपमा कुनै प्रमाण छैन । त्यो टेप प्रकरण प्रमाणित हुँदैन ।’’ उनले बाँस्कोटमा दोष देखिएमा त्यसको सजाय उनले भोग्ने बताए। उनले आफ्नो नाममा पनि उक्त टेप प्रकरणमा उजुरी हालिएको छ भन्दै त्यो काम नलाग्ने बताए ।

उनले पार्टीको सही नीति तथा व्यापक र सुदृढ सङ्गठन भए पनि प्रचार माध्यममा मात्र कमी रहेको बताए । उनले केही विरोध गर्न नपाएपछि आफ्नो जन्मदिनमा जनताले केक काटेर उत्सव मनाएकामा पनि नेपाली काङ्ग्रेसले विरोध गरेको बताए । ‘‘भारतले नाकाबन्दी गर्दा बोल्न नसक्ने काङ्ग्रेस केकमा राष्ट्रवाद भन्न थालेको छ’’, उनले भने, ‘‘ मेरो जन्मस्थलमा मसँगै पानी, बिजुली पुगेपछि जनताले केक काटेर उत्सव मनाएका हुन् । कसले केक ल्याए, मलाई थाहा छैन । मैले केक छोइदिएको मात्र हुँ । केक उनीहरुले नै काटेका हुन् ।’’

संसदमा जवाफ दिइने

उनले संसदबाट आफू कहिल्यै नभागेको बताए । उनले भने, ‘‘संसदमा बोल्दा हुलहुज्जत गरेर बोल्न नदिने, अनि भाग्यो भनेर भन्ने ? संसदमा दुई तिहाई ल्याएको पार्टीको नेता हुँ, म कहिल्यै भाग्दिन ।’’ उनले आफू कुनै समय संसद् जाने र प्रतिपक्षको कुरा सुनेर जवाफ दिने पनि स्पष्ट गरे । ‘‘प्रधानमन्त्री विभिन्न कामले सधैँ संसदमा पुग्न सक्दैन’’, उनले भने ‘‘ म कुनै समयमा त्यहाँ गएर उहाँहरुका कुरा सुनेर जवाफ दिन्छु ।’’

केही दिनमा मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री ओलीले केही दिनभित्र आफूले मिर्गौला प्रत्यारोपण गर्ने जानकारी दिए । मिर्गौला प्रत्यारोपण गरेर पाँच दिन अस्प तालमा बस्ने र छैटौं दिनमा घर आएर काम शुरु गर्ने उनको भनाइ थियो । उनले अझै पनि १०–१५ वर्ष आफ्नो स्वास्थ्यमा तलमाथि नहुने दृढता पनि व्यक्त गरे । ‘‘अहिले मानिसले मलाई बिरामी भने पनि म दैनिक १७–१८ घण्टा काम गरिरहेको छु’’, उनले भने, ‘‘ बिरामी हुँदा पनि काम गर्ने मेरो बानी परेको छ । अलिअलि बिरामी परिहालिन्छ । जिन्दगी यस्तै हो ।’’रासस

Logo