काठमाडौं । चीनको वुवानमा गत डिसेम्बरको पहिलो साता देखा परेको नोबेल कोरोना भाइरसले अहिले विश्वभर तरंग ल्याएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो समूहको सुरुवात गत डिसेम्बर ३१ मा भएको थियो । चीनबाट सुरु भएको कोरोना भाइरस अहिले ४९ देशमा फैलिसकेको छ ।
अहिले देखिएको कोरोना भाइरस एकदमै नयाँ किसिमको भाइरस हो । चीनबाट सुरु भएको कोरोना भाइरसको नाम ‘कोभिड–नाइन्टिन’ राखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) ले औपचारिक रुपमा नयाँ कोरोना भाइरसको नाम राखेको हो । कोरोना भाइरसको नाम कोभिड–१९ राखिएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अदहानोम घेब्रिएससले बताएका छन् ।
कोरोको संक्रमण अझै पनि रोकिएको छैन । यो समाचार तयार पार्दासम्म कोभिड–१९ को संक्रमणबाट मर्नेको संख्या २ हजार ८०७ जना पुगेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ८२ हजार १८८ पुगेको छ । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने ३२ हजार ९११ रहेको छ ।
कोभिड–१९ बाट चीनमा मात्रै २ हजार ७४७ जनाको ज्यान गइसकेको छ । भाइरसबाट चीनमा ७८ हजार ४९९ जना संक्रमित भएकोमध्ये ३२ हजार ५ सय ८७ जना उपचारपछि निको भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
चीनबाहेक अन्य मुलुकमा पनि कोरोना भाइरस फैलिएको छ । नयाँ भाइरस अन्टार्टिकाबाहेक सबै महादेशमा फैलिएको छ । हालसम्म चीनबाहिर ३ हजार बढी मानिस संक्रमित बनेका छन् भने ६० जनाले ज्यान गुमाइसकेका छन् ।
चीनपछि सबैभन्दा धेरै इरानमा २२ जनाको मृत्यु भएको छ भने दोस्रोमा दक्षिण कोरियामा १३ जनाको ज्यान लिइसकेको छ । त्यस्तै , जापानमा ३, हङकङमा २, समुन्द्री पानीजहाजभित्र ४, फ्रान्समा २ को मृत्यु भएको छ । त्यस्तै फिलिपिन्स र ताइवानमा एक/एक जनाको मृत्यु भएको छ ।
चीनपछि इरानमा मर्नेको संख्या धेरै भए पनि सबैभन्दा बढी संक्रमित चीनपछि दक्षिण कोरियामा भेटिएका छन् । पछिल्लो जानकारी अनुसार दक्षिण कोरियामा १५ सय ९५ जना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित हुनेको संख्या बढेपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ ।
इरान पनि इरानी उप स्वास्थ्यमन्त्रीसहित १३९ जना भाइरसबाट संक्रमित भएका छन् । युरोपमा पनि कोरोना भाइरस फैलिएको छ । भाइरसको सबैभन्दा बढी मारमा इटली परेको छ । इटलीमा १२ जनाको ज्यान गइसकेको छ भने ३७४ जना संक्रमित भएका छन् ।
त्यस्तै चीनमा मात्र भाइरसका कारण ८ हजार ३४६ जना बिरामीको अवस्था गम्भीर छ । दक्षिण कोरियामा १८, इटालीमा ३५, जापानमा १३, सिङ्गपुरमा ७, हङकङमा ६, बेलायती क्रुज जहाजभित्र ३६ जना संक्रमितको अवस्था गम्भीर रहेको छ । त्यस्तै थाइल्याण्ड, जर्मनी र युएईमा २/२ जना गम्भीर बिरामीको उपचार भइरहेको छ ।
त्यस्तै ८ वटा देशमा कोभिड १९ को संक्रमण देखिएपनि पूर्णरुपमा स्वास्थ्यल लाभ लिएर फर्किसकेका छन् । भियतनामा १६ जनामा संक्रमण देखिएको भए पनि १६ जना नै पूर्ण स्वास्थ्यल लाभ लिएर घर फर्किसकेका छन् । त्यस्तै भारतका संक्रमित ३ जना, रसियाका २ जना, बेल्जियम, कम्बोडिया, इजिप्ट, नेपाल र श्रीलंकाका १/१ जना संक्रमितले पूर्णस्वास्थ्य लाभ लिएर घर फर्किसकेका हुन् ।
कोरोनाभाइरसका कारण जापानको तटमा रोकिएको एक ‘क्रुज शिप’ मा रहेका नेपाली नागरिकको उद्धार गरिएको छ । एअर इण्डियाको विशेष विमानबाट सबै नागरिक बिहीबार बिहान नयाँ दिल्ली आइपुगेका हुन् । जापानबाट भारतीय नागरिकसहित नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई पनि ल्याइएको हो । साथै यसअघि गत फागुन ४ गते चीनको वुहानबाट १ सय ७५ जनालाई उद्धार गरी खरिपाटीमा राखिएकाे छ ।
अन्य मुलुकमा पनि देखा पर्ने क्रम बढेपछि नयाँ भाइरस चीनको सट्टा अन्यत्रै स्थानमा उत्पन्न भएको हुन सक्ने सक्ने चिनियाँ समाचार माध्यमले जनाएको छ । पिपुल्स डेलीले कोरोना भाइरस अन्यत्रबाट उत्पन्न भएको हुन सक्ने जनाएको हो । विश्वको ध्यान तानेको कोरोना भाइरसको उपचार अझै पत्ता लागिसकेको छैन । नोबेल कोरोनाको भ्याक्सिन पत्ता लगाउन विभिन्न पहल भइरहेका छन् । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले भने केही महिनाभित्र नोबेल कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध हुन सक्ने दाबी गरेका छन् । हेरौं भिडियोमा :





























प्रतिक्रिया