बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गरेका छन् ।
शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन थालेका ह्यारीले बुधबार आयोजित एक कार्यक्रममा आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गरेका हुन् ।
आफूहरूले नै चाहेर शाही पदवीबाट मुक्त भएकाले अब पनि शाही पदवीबाटै सम्बोधन गर्न उपयुक्त नहुने उनको भनाइ छ । आफ्नी श्रीमती र छोरासँगै आफू सर्वसाधारण नागरिक भएर काम गर्न चाहेकाले सबैले त्यही तरिकाले ग्रहण गर्न र व्यवहार गर्न ह्यारीले आग्रह गरे ।
ह्यारी दम्पत्तिले केही हप्ता अघि शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन बिताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए ।
शाही दरबारले पनि चरण चरणका छलफल र प्रयासहरूलाई आधार मानेर उनीहरूको घोषणालाई स्वीकृति दिने निर्णय गरेको थियो । शाही दरबारको सो निर्णयसँगै उनीहरूको शाही उपाधि अन्त्य हुने सुनिश्चित भए पनि आगामी वसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुने भएको छ ।
दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम पनि नपाउने भएका छन् । बेलायती महारानी एलिजावेथ द्वितीयाका नाती ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनले केही समयको प्रेम सम्बन्धपछि सन् २०१८ मा विवाह गर्नुभएको हो ।
ह्यारी अहिले ३५ वर्षका छन् भने उनकी श्रीमती मेगन ३८ वर्षकी भएकी छिन् । राजकुमार ह्यारी बेलायती राजपरिवारका छैटौँ उत्तराधिकारी थिए ।
रासस





























प्रतिक्रिया