सोलुखुम्बु ।
सोलुखुम्बुमा तेश्रो मदन स्मृतिकप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । मदन भण्डारी स्पोट्स एकेडेमी १ नम्बर प्रदेश कमिटीको आयोजनामा शुरु भएको प्रतियोगितामा प्रदेश १ का १३ जिल्लाको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईले गरे । उद्घाटनका क्रममा सांसद राईले खेलकुदले देशलाई विश्वमा प्रचार गर्न सकिने भन्दै खेलकुदको विकासमा वर्तमान सरकार क्रियाशिल रहेको बताए ।
प्रदेश सांसद एवं नेकपा संसदीय दल प्रदेश नं. १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पर्यटनका माध्यमबाट विश्वमा परिचित सोलुखुम्बुलाई खेलका माध्यमबाट चिनाउन आफूहरु लागि परेको बताए ।
गाउँपालिका महासंघ प्रदेश १ का कोषाध्यक्ष एवं थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम थुलुङले पर्यटन र खेललाई सँगै अगाडी बढाउनु पर्ने आवश्यकता औंल्याए । एकेडेमीका प्रदेश १ अध्यक्ष सागर थापाले नेपाल पर्यटन बर्षलाई सघाउ पुर्याउँदै खेल क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरेको बताए ।
प्रतियोगिताको पहिलो दिन ८ खेलहरु सम्पन्न भएका छन् । लिगकम नक आउटका आधारमा खेलाइएको खेलमा मोरङ, ओखलढुंगा, झापा, सुनसरी, सोलुखुम्बु, धनकुटाले विजयी शुरुवात गरेको छ ।
पहिलो खेलमा सोलुखुम्बुले भोजपुरलाई २५-१७ र २५-२० को सोझो सेटमा पराजित गर्यो । मोरङले खोटाङलाई २५-१४, १२-२५ र २५-२० मा पराजित गर्दा ओखलढुंगाले तेह्रथुमलाई २५ -१८ र २५ – २३ मा पराजित गर्यो ।
यस्तै झापाले धनकुटालाई २५-२० र २६-२४ को सोझो सेटमा पराजित गर्दा पाँचथर सुनसरीसँग २५-१९ र २५-२२ ले पराजित भयो । यसैगरी धनकुटाले इलामलाई २२-२५, २५ -१९ र २५ -१७ मा पराजित गर्यो ।
ओखलढुंगाले खोटाङलाई २५-१८ र २५-१४ मा पराजित गर्दा र मोरङ र तेह्रथुमबीचको प्रतिस्पर्धात्मक खेलमा तेह्रथुम १९ -२५, २५-२१ र २५-१५ ले विजयी भयो ।
सोलुखुम्बु सदरमुकामस्थित योङ्ग स्टार क्लवमा जारी प्रतियोगिता फागुण १० मा सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले क्रमशः १ लाख ५० हजार, एक लाख र पचास हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।































प्रतिक्रिया