काठमाडौं ।
बितेका ६ महिनामा निर्यातमा वृद्धि र आयातमा कमी आएका कारण व्यापार घाटामा क्रमशः सुधार हुँदै गएको छ । भुक्तानी सन्तुलन स्थिति पनि सुदृढ हुँदै गएको छ ।
विदेशी तथा आन्तरिक लगानी प्रतिबद्धतामा उत्साहप्रद वृद्धि हुँदै गएकाले समग्र वित्तीय प्रणालीमा स्थायित्व कायम भएको छ भने वित्तीय सेवाको पहुँचमा पनि केही विस्तार भएको छ । नयाँ कानून र विधि निर्माणपछि सरकारी वित्त व्यवस्थामा सुधार, आयातमा आएको ह्रास र नयाँ राजश्व प्रणालीप्रति व्यवसायीहरू अभ्यस्त हुन समय लागेकाले आयातबाट प्राप्त हुने राजश्व अपेक्षाकृत सङ्कलन हुन सकेको छैन भने समग्र बजेट कार्यान्वयनको गतिमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार पनि हुन नसकेको अर्थमन्त्रीले स्वीकार गरेका छन् ।
चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा बुधबार आफ्नै मन्त्रालयमा प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले विगत दुई वर्षदेखिको निरन्तर सुधारको प्रयासले समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक हुँदै गएका तथा आर्थिक वृद्धिदर उच्च रहँदै आएको र मुद्रास्फीति निश्चित सीमाभित्र नै रहेको बताए ।
बाह्य सहायता परिचालनतर्फ दातृ निकायको प्रतिबद्धता र बजेट सहयोग उत्साहजनक रूपमा बढ्दै गएको, लगानीमैत्री कानूनहरूको निर्माण र पारदर्शी एवं उद्योगमैत्री राजश्व नीतिका कारण निजी क्षेत्रको व्यावसायिक विस्तार भएको बताउँदै उनले केही खाद्यान्नबाहेक कृषि क्षेत्रमा भएको वृद्धि, औद्योगिक उत्पादनमा भएको विस्तार, होटललगायत पर्यटन पूर्वाधारमा बढेको लगानी, जलविद्युत् आयोजना, सडक, विमानस्थलजस्ता भौतिक पूर्वाधारको निर्माण तथा पुरातात्विक भवन, निजी आवास, विद्यालयसहित भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तीव्र गतिमा भएको, वित्तीय क्षेत्रको विस्तारले चालु आर्थिक वर्षमा उच्च आर्थिक वृद्धिको निरन्तरता कायम भई बजेटले लक्ष्यित गरेको आर्थिक वृद्धिको नजिक पुग्न सक्ने सकारात्मकस्थिति उनले चित्रण गरे ।
यद्यपि केही चुनौती रहेकाले थप मेहनत गर्नुपर्ने आवश्यकतामा अर्थमन्त्रीले जोड दिए। “नेपाल र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनबीच भएको अनुदान सहायता सम्झौता सङ्घीय संसदबाट अनुमोदन हुन ढिलाइ भइरहेकाले विनियोजित बजेट १० अर्ब खर्च हुन सकेको छैन । कतिपय प्रदेश तथा स्थानीय तहले सञ्चित रकमबाट खर्च व्यवस्थापन गरेकाले गत वर्षको तुलनामा यो वर्ष करीब १८ अर्ब कम वित्तीय समानीकरण र सशर्त अनुदानको रकम हस्तान्तरण भएको छ ”, उनले भने ।
पछिल्लो समय आयातको परिमाणमा सुधार हुँदै गएको, समष्टिगत आर्थिक परिसूचक सन्तोषजनक रहेको, आर्थिक क्रियाकलापमा बढोत्तरी भएको, करको दायरा विस्तार हुँदै गएको, राजश्व चुहावटमा नियन्त्रण हुँदै गएकाले आगामी छ महिनामा कर राजश्वको संशोधित अनुमान हासिल हुने अपेक्षा गरिएको जानकारी उनले दिए ।
रासस































प्रतिक्रिया