काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले राजनीतिक प्रभावमा परेर काम गर्ने अख्तियारका पदाधिकारीमाथि महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्ने बताएकी छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा गिरीले भनिन्, “अख्तियार प्रमुखले राजनीतिक पुर्वाग्रह राखेको हो भने, महाअभियोगको प्रस्ताव दर्ता गराएर अघि बढ्न सकिन्छ ।” मत्स्य न्यायको सिद्दान्त जस्तो गरी अख्तियारले निर्णय गरेको भन्दै गिरीले प्रश्न गरिन्, “शोभाकान्त ढकालमाथि मुद्दा लाग्छ भने अन्य दुई जनामाथि किन मुद्दा लाग्दैन ?” गिरीले अन्य दुई जना भनेर बालुवाटारको जग्गा खरिदमा संलग्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधिस कुमार रेग्मीप्रति लक्षित गरेकी थिइन् । लेनदेनको राजनीतिले संसद बदनाम हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै गिरीले संसदले आफ्नो अधिकार क्षेत्रको खुलेर उपयोग गर्नुपर्ने बताइन् । राजनीतिक लेनदेनका कारण कांग्रेसले महाअभियोगका सम्बन्धमा बोल्न नसकेको तर्फ गिरीको संकेत थियो । गिरीभन्दा अघि बोल्ने कांग्रेस सचेतक पुष्पा भुसालले पटक पटक अख्तियारले राजनीतिक पुर्वाग्रह राखेर निर्णय गरेको बताएपनि महाअभियोग लगाउनेबारे केही पनि बोलेकी थिइनन् ।
समाजवादी पार्टीकी सांसद गिरीले बालुवाटारको ललिता निवास जग्गा प्रकरणसम्बन्धी मन्त्रिपरिषद्को निर्णयमाथि प्रश्न उठिसकेपछि तत्कालिन प्रधानमन्त्रीहरु पनि छानविनको दायरामा आउनुपर्ने बताइन् । उनले भनिन्, “त्यो बेलाका एकजना प्रधानमन्त्री, हाम्रो दलका नेता डा. बाबुराम भट्टराईले छानविन होस् भन्नुभएको छ, अन्य प्रधानमन्त्रीले पनि छानविन होस् भन्न सक्नुपर्यो ।”































प्रतिक्रिया