काठमाडौं ।
चालु आर्थिक वर्षको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएका छौं । यही गति रहे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात हुनेछ ।
कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य आकाशिएको हो । अहिले यसको बजार मूल्य सरदर ६ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ। जब कि २० दिन अघि यसको मूल्य एक सय ३० रुपैयाँ थियो।
गत आव ०७५, ७६ मा ८३ करोड ३० लाख मूल्यको ९ हजार दुई सय ७७ मेट्रिक टन लसुन आयात भएको थियो । हामीले त्यही अवधिमा १५ लाख मूल्य बराबरको १८ मेट्रिक टन निर्यात गरेका थियौं । कृषिजन्य उत्पादनमा मुलुकको परनिर्भरताको पराकाष्ठा लसुनले झल्काउँछ।
राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार हरेक वर्ष ठूलो परिमाणमा लसुन चीन, भारत र अन्य मुलुकबाट आयात हुन्छ। सबैभन्दा बढी चीनबाट हुन्छ।
केन्द्रका प्रमुख डा. कमल गैरेका अनुसार नेपालमा करिब ६० हजार मेट्रिक टन लसुनको माग छ। स्वदेशमा ५० हजार एक सय ७७ हेक्टरमा करिब ५० हजार मेट्रिक टन हाराहारीमा स्वदेशी र चिनियाँ जातको लसुन उत्पादन हुन्छ।
‘अपुग १० हजार मेट्रिक टन लसुन आयात भएको तथ्यांक छ,’ गैरेले भने, ‘कृषिजन्य वस्तुतर्फ ससाना उत्पादनमा ध्यान दिन नसक्दा आयातका नाममा व्यापार घाटा बढेको हो।’
ठूला होटेल, रेस्टुराँ र सहरी क्षेत्रका अधिकांश उपभोक्ताले चिनियाँ लसुन मन पराउने भएकाले बजारमा बढी माग छ। थोक विक्रेता अर्जुन सिलवालका अनुसार सहरी क्षेत्रका बासिन्दाले चीनबाट आयात हुने ठूलो आकारको लसुन अत्यधिक रुचाएकाले तुलनात्मक रूपमा बजारमा माग बढी छ।
‘भारतबाट आयात हुने र स्वदेशमा उत्पादित लसुनको आकार सानो हुने र बोक्रा झिक्न केही कठिनाइ भएकाले उपभोक्ताले चिनियाँ लसुन बढी मन पराएका हुन्,’ उनले भने । उनका अनुसार २५ दिनयता चीनबाट लसुन आयात भएको छैन। आयात नहुँदा बजारमा चिनियाँ लसुनको माग बढ्दै गएको हो।
कालिमाटी तरकारी बजारमा वार्षिक रूपमा चीनबाट आयात हुने लसुन एक सय ५४ मेट्रिक टन कारोबार हुन्छ। भारतबाट आयात भएको लसुन साढे ४० टनको कारोबार हुन्छ। कालिमाटी बजारका उपनिर्देशक विनय श्रेष्ठका अनुसार त्यतिले नपुगेर नेपालमै उत्पादित चिनियाँ जातको करिब १४ टन र स्वदेशी जातको करिब एक सय १८ टन लसुन खपत हुन्छ।
अन्नपूर्णबाट































प्रतिक्रिया