दुर्घटना रोक्न नीति नियम कडा हुनु पर्छ : सीताराम हाछेथु (पूर्वप्रहरी निरीक्षक)

दुर्घटना रोक्न नीति नियम कडा हुनु पर्छ : सीताराम हाछेथु (पूर्वप्रहरी निरीक्षक)

केन्द्रबिन्दु
0
Shares

पछिल्ला केही वर्ष यता काठमाडौं उपत्यकामा सवारी साधनको संख्या दिन प्रतिदिन बढिरहेको छ । तर सडक भने पुरानै अवस्थामा छन् । केही मात्रामा सडक विस्तारलाई सरकारले तिब्रता दिएपनि सवारी साधनको संख्याको तुलनामा त्यो पर्याप्त छैन । यसकै कारण दिन प्रतिदिन दुर्घटना पनि बढिरहेको छ । यसै सन्दर्भमा लामो समयसम्म ट्राफिक प्रहरीमा काम गरेर केहि समय अघि मात्र अवकाश लिएका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ केन्द्रबिन्दुका वरिष्ठ उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले गरेको कुराकानी :

१.लामो समयदेखि ट्राफिक प्रहरी भएर सेवा गर्नु भयो तर अवकाशपछि हिजोआज यहाँको व्यस्तता के मा छ ?
मैले २९ वर्ष ट्राफिक प्रहरी भएर सेवा गरें । गत वर्ष अवकाश त लिएँ तर पूर्ण रुपमा काम छोडेको भने छैन । अहिले पनि मैले हेडक्वाटरबाट ट्राफिक व्यवस्थापन र ट्राफिक जनचेतना जगाउने अभियान सम्बन्धी जिम्मेवारी लिएको छु ।

२.दैनिक रुपमा बढिरहेको सवारी दुर्घटना रोक्न के गर्न सकिएला ?
सवारी साधनको संख्या बढेपछि दुर्घटना पनि बढेको हो । यद्यपी सवारीको संख्याका आधारमा अहिले भइरहेको दुर्घटना कम नै हो । तर यसो भनेर मात्र त हुँदैन । दुर्घटना रोक्न पहिलो कुरा चालकहरूले सडक र सवारीको अवस्था ध्यान दिदैं सवारी चलाउनुपर्छ । त्यस्तै पैदलयात्रीले पनि सडक पार गर्दा ध्यान पु¥याउनुपर्छ । सडकमा ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीले पनि यसमा ध्यान पु¥याउन सके पक्कै पनि दुर्घटना कम हुन्छ ।

३.ट्राफिक प्रहरीले सडकमा सुरक्षा जाँच धेरै गर्ने गरेको छ, तर चालकहरू कारबाही पर्ने क्रम रोकिएको छैन, किन होला ?
चालकहरूले म सवारी चलाउँदै छु भनेर ट्राफिक नियम पालना गर्नु प¥यो नि । मादक पद्धार्थ सेवन गरेर सवारी चलाउनु भएन । सडकमा ट्राफिकको आँखा छल्ने अभिप्रायले गल्ति गरेपछि भाग्न खोज्ने चालकहरूको संख्या पनि धेरै छ । एउटा गल्ति छल्न खोज्दा अरु दुर्घटनाहरू थपिने गरेको प्रति चालकहरू सजग नहुँदा कारबाहीमा पर्ने गरेका हुन् । कानून ट्राफिकको लागि मात्र बनाइएको होइन, यो कुरा चालकहरूले सोच्ने हो भने कारबाही पर्नबाट उहाँहरू बच्नु हुनेछ ।

४.काठमाडौं उपत्यकामा अहिले भएका ट्राफिकको संख्याले बढिरहेको सवारी चापलाई व्यवस्थापन गर्न नसकेर जाम पनि धेरै बढेको जनगुनासो छ नि ?
ट्राफिकको संख्या धेरै भए मात्र दुर्घटना कम हुने होइन । नीति नियम कडा हुने र सबैले नियममा बसेर सवारी चलाउने हो भने ट्राफिक जाम पनि कम हुन्छ, दुर्घटना पनि कम हुन्छ । हामी विदेशमा भएको जस्तो सडक व्यवस्थापनको कल्पना गर्छौं । तर त्यहाँको नीति नियम कस्तो छ, हामीले ध्यान दिएका छैनौं । नेपालमा सवारी चालक र सर्वसाधारणमा सडक ज्ञानको कमी छ । सरकारको नीति नियम र कानून पनि फितलो छ । जसले गर्दा हामीले सोचेको जस्तो व्यवस्थापन हुन नसकेको हो ।

५.ट्राफिक प्रहरीले पछिल्लो २ महिना यता सुरु गरेको ट्राफिक उज्यालो अभियानको प्रभाव कस्तो परेको छ ?
यस अभियानको प्रभाव राम्रो छ । दुर्घटनामा केही कमी आएको छ । यद्यपी सन्तोषजनक परिणाम भने आउन सकेको छैन । म त भन्छु २ महिनाको अभियान वा ३ महिनाको अभियानले मात्र हुँदैन । विद्यालयस्तरमै ट्राफिकसँग सम्बन्धित छुट्टै कोर्श राख्नुपर्छ । बालकदेखि नै पढ्दै गयो भने भविष्यमा सडकमा सवारी चलाउने त्यही विद्यार्थी त हो । उसलाई राम्रो अध्ययन पहिले नै दिन सकेमा पछि अभियान चलाउनु नै पर्दैन नि ।

Logo