छाउनीस्थित पूर्व अधिराजकुमारीकाे जग्गा नेपाल ट्रष्टकै कायम

छाउनीस्थित पूर्व अधिराजकुमारीकाे जग्गा नेपाल ट्रष्टकै कायम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो भएकाे दाबी गर्दै सर्वाेच्चामा पुन: दायर गरेको रिट सर्वोच्च अदालतले खारेज हुने फैसला सुनाएको छ।

काठमाडौंको छाउनीस्थित १५ रोपनी १ आना क्षेत्रफलको घरजग्गा नेपाल ट्रष्टको नाममा ल्याउन सर्वोच्च अदालतले खुला गरिदिएकाे हाे ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको रिट खारेज गरेसँगै छाउनीस्थित स्वर्गीय राजा वीरेन्द्रको नामको सो घरजग्गा ट्रष्टमा ल्याउन बाटो खुलेको हो ।

सरकारले २०६४ पुस १ मा पूर्वराजा वीरेन्द्रको सम्पत्तिका रुपमा रहेको जग्गा नेपाल ट्रष्टमा गाभ्ने निर्णय गरेको थियो। सोही जग्गाअन्तर्गत काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना आफ्नो दाइजो दाबी गर्दै प्रेरणा पहिलो पटक २०७१ माघ २५ मा सर्वोच्च पुगेकी थिइन्।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको संयुक्त इजलासले २०७३ पुस २१ गते सो जग्गा ट्रष्टको हुने फैसला गरेको थियो।

तर, आफूले दाइजोको रुपमा पाएको जग्गा सरकारले नेपाल ट्रष्टअन्तर्गत ल्याउन नमिल्ने दाबी गर्दै प्रेरणाले पुनः २०७५ पुस ६ गते रिट दायर गरेकी थिइन्। उक्त जग्गा नेपाल ट्रष्टलाई दिने सर्वोच्चको फैसलामा असन्तुष्टि जनाउँदै उनी फैसला पुनरावलोकनका लागि सर्वोच्च पुगेकी थिइन्।

शुक्रबार प्रेरणाको रिट निवेदन खारेज भएसँगै छाउनीको जग्गा प्ररणाले दाबी गर्ने सबै कानुन बाटा बन्द भएका छन्।

Skip This
Skip This
Logo