कांग्रेस नेता गच्छदारलाई १२ वर्ष कैद गर्न माग

कांग्रेस नेता गच्छदारलाई १२ वर्ष कैद गर्न माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई १२ वर्षसम्म कैद गर्न विशेष अदालतसँग माग गरेको छ।

अख्तियारले बुधबार अदालतमा दायर गरेको अभियोगपत्रमा गच्छदारले आफ्नो ओहदाको कुनै काम गरिदिएबापत एक करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप र ठूलो पदमा भई भ्रष्टाचार गरेका कारण उनलाई अधिकतम १२ वर्ष कैद गर्न माग गरिएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) र दफा २४ बमोजिम गच्छदारलाई कैद गर्न अख्तियारले माग गरेको छ । देहाय (झ) मा एक करोड रुपैयाँभन्दा बढी जतिसुकै भ्रष्टाचार गरेको भए पनि आठदेखि १० वर्षसम्म कैद गर्नुपर्ने प्रावधान छ।

गच्छदारलाई ऐनको दफा १७ बमोजिम कसुर गरेको आरोप लगाइएको छ। सो दफामा भनिएको छ– ‘कुनै राष्ट्रसेवकले आफ्नो ओहदाको वा सो सम्बन्धी कर्तव्य पालना गर्दा नेपाल सरकार वा सार्वजनिक संस्थाको सम्पत्तिको लापर्बाही वा बदनियत गरी हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गरे गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा निजलाई कसुरको मात्रा अनुसार दफा ३ बमोजिमको सजाय हुनेछ र त्यसरी हिनामिना, हानि नोक्सानी वा दुरुपयोग गरेको वा मासेको वा मास्न दिएको सम्पत्ति पनि निजबाट असुल उपर गरिनेछ।’

पूर्व उपप्रधानमन्त्री गच्छदारले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ भ्रष्टाचार गरेको भनी बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियार स्रोतका अनुसार संसद्का सदस्यसमेत रहेका गच्छदारलाई संसद् सदस्यबाट निलम्बन गर्न बिहीबार संसद् सचिवालयमा पत्र पठाइएको छ। अख्तियारले सरकारी सेवामा रहेको अन्य व्यक्तिलाई पनि निलम्बन गर्न बिहीबार नै पत्र पठाएको छ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo