मुस्ताङमा रहेको ढुम्बा ताल जमेर बरफ

मुस्ताङमा रहेको ढुम्बा ताल जमेर बरफ

केन्द्रबिन्दु
0
Shares

मुस्ताङ ।

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँमा रहेको ढुम्बा ताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । ढुम्बा ताल ठ्याक्कै मुटुको आकारको भएकाले ‘हट सेप्ट लेक’ भनेर पनि चिनिन्छ ।

तालको व्यवस्थापन कुछुप तेरेङ्गा गुम्बाले परापूर्वकालदेखि गर्दै आएको छ । तालमा विभिन्न जातका माछा छाडिएको छ, तालको सरसफाइ र माछाको हेरविचार गर्न र आहारा खुवाउने सबै गुम्बाले गर्ने गरेको गुम्बाका लामाकाजी थकालीले बताए । यस तालमा कुछुप तेरेङ्गा गुम्बालाई चढाउने पवित्र जल भएका कारण तालमा फोहर गर्न मनाही गरिएको लामा थकालीले बताए ।

मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने प्रायः पर्यटक ढुम्बा ताल घुम्न आउने गरेको वडा नं ५ का अध्यक्ष वीरेन्द्र थकालीले बताए । पर्यटकको आकर्षणका कारण मुस्ताङको सदरमुकाम जोमसोमदेखि पाँच किलोमिटर पश्चिममा पर्ने ढुम्बा ताल दुई वर्षयता चर्चामा आउन थालेको थकालीले जानकारी दिए ।

समुद्र सतहदेखि करिब तीन हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १५० मिटर र चौडाइ १०० मिटर छ । तालमा गएर पूर्वको नीलगिरि र पश्चिमको धौलागिरि हिमाल यस स्थानबाट देखिन्छ ।

नीलो रङमा देखिने यो ताल हिजोआज जमेको छ । जमेको तालमा युवा तस्बिर खिचाउन जान थालेका छन् । पछिल्लो समय जमेको ताल हेर्ने आउने पर्यटकको सङ्ख्या बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख तुलसी दाहालले बताइन्। जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्बा ताल पुग्न सजिलै सकिने दाहालले जानकारी दिइन् ।

ढुम्बा तालको धार्मिक महत्व र प्राकृतिक सौन्दर्यलाई जोगाउन संरक्षण, प्रवद्र्धन तथा सुन्दरताका लागि गण्डकी प्रदेश सरकारमार्फत यसै आवमा २५ लाख बजेट विनियोजन गरिएको गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनले बताए । आगामी दिनमा तालमा बजेट विनियोजन गर्दै जाने सांसद गौचनले जानकारी दिए ।

पछिल्लो समयमा केही नेपाली चलचित्रमा समेत ढुम्बा तालको मनोरम दृश्य छायाङ्कन हुन थालेपछि र सामाजिक सञ्जालमा तालको सुन्दरताको तस्बिर राख्न थालेपछि तालमा घुइँचो लाग्न थालेको छ । रासस

Skip This
Skip This
Logo