निगमको अन्तर्राष्ट्रिय उडानका ४० मध्ये २५ पाइलटद्वारा राजीनामा

निगमको अन्तर्राष्ट्रिय उडानका ४० मध्ये २५ पाइलटद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन् । व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् । अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये बिहीबार २५ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन् । राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को–पाइलट हुन् ।

राजीनामा दिएका २५ पाइलट सबै बाहिरिए भने निगमको अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द हुनेछ । निगममा १३ विदेशी क्याप्टेन छन् । तर, क्याप्टेन र को–पाइलट दुवै नभई उडान गर्नै पाइँदैन । निगमले हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत नौ वटा गन्तव्यमा उडान भर्दै आएको छ ।

‘पाइलटहरूको सामूहिक राजीनामा आएको छ, सचिवज्यूले बोर्ड बैठक राखेपछि एजेन्डाका रूपमा पेस गर्नेछु,’ निगमका निमित्त कार्यकारी अध्यक्ष चन्दले भने । व्यवस्थापनको कमजोरी र सुविधा तथा करका विषयमा विभेद गरेको भनेर राजीनामा आएको उनले बताए । सञ्चालक समितिले राजीनामाको विषयमा समाधान निकाल्ने चन्दले बताए । सामूहिक राजीनामा आउनु दुःखद भएको बताउँदै चन्दले पर्यटन सचिवलाई यस विषयमा जानकारी गराइसकेको बताए ।

क–कसले दिए राजीनामा ?

राजीनामा दिनेमा एयरबस ३३० जहाजका नेपाली क्याप्टेन श्रवण रिजाल, समाज श्रेष्ठ र महेश डंगोल छन् । त्यस्तै, सोही जहाजका ११ को–पाइलटमध्ये १० जनाले राजीनामा दिएका छन् । एयरबस ३२० का १६ क्याप्टेनमध्ये १२ जनाले राजीनामा दिएका छन् । सोही जहाजका नौजना को–पाइलटमध्ये तीनजनाले राजीनामा दिएका छन् ।

राजीनामा दिने पाइलटमा अरबिन पहाडी, श्रवण रिजाल, सुवास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्या शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, आरके शेरचन, सञ्जय पौडेल, मुकेशकुमार गुप्ता, सुनील श्रेष्ठ, समजकुमार श्रेष्ठ, रमण घिमिरे, श्यामकृष्ण देवाचू, भोविन कठायत र नगेन्द्र भट्टराईले सामूहिक राजीनामा बुझाएका छन् ।
नयाँ पत्रिकाबाट

Logo