संसदीय दलका नेताको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

संसदीय दलका नेताको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसले प्रदेश नं ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार शोक विज्ञप्ति जारी गरी रुपन्देही तिलोत्तमा नगरपालिका–१४ खैरियाका ८२ वर्षीय पोखरेलको निधनमा दुःख व्यक्त गरेका हुन्।

वि.सं. १९९४ माघमा प्यूठानमा जन्मिएका पोखरेलको सोमबारअपराह्न आफ्नै निवासमा निधन भएको थियो । स्वर्गीय पोखरेल एक वर्षदेखि अर्बुद रोगबाट पीडित थिए । वि.सं २०१३ मा नेपाल छात्र सङ्घबाट जयन्तु संस्कृतम नारासहित राजनीति प्रारम्भ गरेका स्वर्गीय पोखरेल पूर्व महाधिवेशन प्रतिनिधि, पूर्व महासमिति सदस्य तथा वि.सं २०२६ देखि २०३७ सम्म पार्टी जिल्ला कार्यसमिति रुपन्देहीको सचिवसमेत रहेका थिए ।

नेपालमा प्रजातन्त्र स्थापनामा जेल जीवनसमेत व्यतित गरेका पोखरेल वि.सं २०७४ को आम निर्वाचनमा प्रदेश नं ५ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशको सभामुखको जिम्मेवारी समेत सम्हालेका थिए ।

पोखरेलको निधनप्रति काँग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । “नेपाली काँग्रेस प्रदेश नं ५ संसदीय दलका नेता पोखरेलको निधनको खबरले मलाइ स्तब्ध र दुःखित बनाएको छ”, विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले स्वर्गीय पोखरेलले नेपाली काँग्रेसको सङ्गठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनको निधनबाट पार्टीले एक कुशल नेतृत्व एवं सङ्गठनकर्तालाई गुमाएको जनाएका छन् । देउवाले उनको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

नेता पोखरेलको निधनप्रति मुख्यमन्त्री शङ्कर पोखरेलले आफूलाई स्तब्ध बनाएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले सोमबार जारी गरेका शोक विज्ञप्तिमा स्वर्गीय पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अनवरत रुपमा क्रियाशील पोखरेलको निधनले प्रदेशसभाले अनुभवी प्रदेशसभा सदस्य र दलको नेता गुमाएको मुख्यमन्त्रीले शोक विज्ञप्तिमा जनाएका छन् । नेपाली काँग्रेस संसदीय दल उनको अनुपस्थितिमा मुख्यमन्त्री पोखरेलले स्थापित गरेको सहकार्यको संस्कृतिलाई निरन्तरता दिन सफल हुने विश्वाससमेत व्यक्त गरेका छन् ।
रासस

Skip This
Skip This
Logo