सत्तारुढ नेकपाद्वारा सभामुखको उम्मेद्वार चयन, अग्नि सापकोटा नयाँ सभामुख बन्ने

सत्तारुढ नेकपाद्वारा सभामुखको उम्मेद्वार चयन, अग्नि सापकोटा नयाँ सभामुख बन्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले झण्डै ४ महिनादेखि जारी संसदको गतिरोध अन्त्य गर्दै सभामुख चयनको विवाद टुंगो लगाएको छ । नेकपाको आज अपराह्न बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई पार्टीका तर्फबाट सभामुखको उम्मेद्वार चयन गरेको हो । उनी सिन्धुपाल्चाेक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सा‌ंसद हुन् । प्रतिनिधि सभामा नेकपाको बहुमत रहेकाले सो पार्टीका तर्फबाट हुने सभामुखको उम्मेद्वार विजयी हुने निश्चित छ ।

नेकपाले सभामुखको उम्मेद्वार चयन गरेसँगै अब उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने भएको छ । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार नेकपाले सभामुखमा नयाँ उम्मेद्वार चयन गरेपछि सोही दलबाट उपसभामुख रहन मिल्दैन । उपसभामुख तुम्बाहाङ्फेले सभामुखको उम्मेद्वार चयन भएपछि आफूले राजीनामा दिने बताउँदै आएकी छन् । अब सोमबार बस्ने प्रतिनिधि सभाको बैठकबाट सभामुखको निर्वाचन प्रक्रिया शुरु हुनेछ ।

नेकपाका दुई अध्यक्षले सभामुख चयनमा झण्डै एक साताको संवादहीनता अन्त्य गर्दै गत विहिबारदेखि छलफल तीव्र पारेका थिए । सोमबार बस्ने प्रतिनिधि सभाको बैठकअघि नै सभामुख चयनमा सहमति जुटाउने नेकपा शीर्ष नेतृत्वले बताउँदै आएको थियो । त्यसका लागि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्र्मा ओलीसँग छलफल गर्न आइतबार विहानै बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीचको छलफलपछि बोलाईएको सचिवालय बैठकले सभामुखको उम्मेद्वार तय गरेको हो ।

नेकपाका दुई अध्यक्षविचको शक्ति संघर्षका कारण सभामुख चयनमा सहमति जुट्न नसक्दा एक महिनादेखि प्रतिनिधि सभाको बैठक बस्न सकेको थिएन । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको अभियोग लागेका कारण तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि प्रतिनिधि सभा सभामुखविहीन रहँदै आएको छ । सार्वभौम संसद अवरुद्ध भएकामा प्रतिपक्षी दलहरुले आपत्ति जनाउँदै तत्काल संसद संचालन हुने वातावरण बनाउन सत्तारुढ दलको ध्यानाकर्षण गराएका थिए । हिउँदे अधिवेशनको पहिलो दिन पुस ४ गते प्रतिनिधि सभाको बैठक बसेपछि त्यसपछिका ३ वटा बैठक सूूचना टाँसेर स्थगित गरिएको थियो ।

नेकपाका तर्फबाट सभामुख हुने भएपछि अब उपसभामुख नेकपा इतरका दलहरूमध्येबाट चयन हुनुपर्नेछ । यद्यपि प्रतिनिधि सभामा नेकपाकै बहुमत रहेका कारण उसले समर्थन गर्ने दलबाटै उपसभामुख बन्ने निश्चित छ । नेकपाले उपसभामुख कसलाई बनाउने भन्नेबारे आधिकारिक निर्णय नगरे पनि राष्ट्रिय जनमोर्चालाई उपसभामुख दिने अनुमान गरिंदै आएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले पनि उपसभामुखमा इच्छा देखाएको छ ।

Logo