नेपाल स्काउटले प्रदेशस्तरीय स्काउट आधारभूूत तालिम सञ्चालन गरिरहेको छ । प्रदेश नम्वर २ र १ मा स्काउट आधारभूूत तालिम सञ्चालन गरिसकेको नेपाल स्काउटले अहिले प्रदेश नम्बर ५ को बर्दघाटमा यो तालिम सञ्चालन गरिरहेकाे छ । विपत व्यवस्थापनदेखि नेतृत्व विकाससम्मको चार तहको तालिम नेपाल स्काउटले दिइरहेको छ । हरेक प्रदेशको सहयोगमा तालिम सञ्चालन गरिरहेको नेपाल स्काउटले सातवटै प्रदेशमा आधारभूत तालिम दिइरहेको छ । तालिमले हरेक प्रदेशमा स्वयंसेवक र विपतका बेला समाजका लागि आवश्यक हुने युुवाशक्ति निर्माण गर्न सहयोग पुग्ने नेपाल स्काउटले जनाएको छ ।
प्रस्तुत छ नेपाल स्काउटका राष्ट्रिय निर्देशक लोकबहादुर भण्डारीसँग केन्द्रविन्दुकर्मी जितेन्द्र रसिकले राखेको ५ जिज्ञासा :
नेपाल स्काउट प्रदेश तहमा जान थालेको छ, आधारभूत तालिम प्रदान गर्दै हिँडेको छ, खासमा यो तालिम केका लागि ?
मुलुकका लागि आवश्यक सहयोगी युुवाशक्ति निर्माणका लागि, विपतमा सहयोग गर्नसक्ने सहयोगी युुवाहरू उत्पादनका लागि । त्यति मात्र होइन समाज विकासका लागि हाम्रो तालिमले सहयोग गर्नेछ । मुलुक प्रादेशिक संरचनामा गइसकेको छ । स्थानीय सासन प्रणालीमा मुलुक चलिरहेको छ । त्यसैले हरेक प्रदेश, हरेक पालिकाहरूसम्म सहयोगी र स्वयंसेवी भावनाका युुवाहरूलाई प्रोत्साहनका लागि हामीले आधारभूूत तालिम सञ्चालन गरेका हौं ।
आधारभूूत तालिमका सहभागीले के के सिक्न सक्नेछन् ? किन लिने यो तालिम ?
हामीले नेतृत्व विकासका तालिम दिएका छौँ । विपत व्यवस्थापनका तालिम दिएका छौं । बालबालिकालाई कसरी समाजमा सुरक्षित राख्ने भन्ने तालिम पनि दिइरहेका छौं । हाम्रो उद्देश्य हरेक पालिकामा स्वयंसेवक उत्पादन गरी स्थानीय शासनमा सुशासन कायम गर्न सघाउनु पनि हो । स्वस्थ, विकृतिमुक्त र आपत विपतमा सहयोगी समाज निर्माण गर्नु पनि हो । त्यसैले आधारभूत तालिममा चार तहको तालिम दिने गरेका छौं । नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था हो । स्काउटले दिने तालिम विश्वासयोग्य हुन्छ । जीवनोपयोगी हुन्छ । स्काउट सबैको मित्र हुन्छ र परस्परमा भ्रातृत्व तथा भगिनित्व कायम राख्दछ । हाम्रो तालिमपछि सहभागीहरूमा विनम्रताको भाव जाग्छ । उनीहरू अनुशासित र आज्ञाकारी हुन्छन् । मन, वचन र कर्ममा पवित्र भएर स्वयंसेवी कार्यमा दत्तचित्त रहन्छन् ।
सहभागीहरू तालिमप्रति कत्तिको उत्साहित भएकाे पाउनुभयो ?
नेपाल स्काउटले हरेक प्रदेशको सहयोगमा तालिम सञ्चालन गरेको हो । तालिममा उत्साहजनक सहभागिता छ । प्रदेश ५ मा मात्र पाँच दिनका लागि सञ्चालन भइरहेको आधारभूत तालिममा प्रदेश ५ का १२ जिल्ला र १०९ वटा स्थानीय तहका गरी र प्रशिक्षक र स्काउटका सहयोगी सहित ७५३ जनाको सहभागिता रहेको छ । यो निकै उत्साहजनक सहभागिता हो ।
तालिम दिन खर्च पनि निकै भएको होला ? प्रति प्रदेश कति खर्च हुने गरेको छ र खर्च कसरी जुटाउनुभएको छ ?
हामीले हरेक प्रदेशसँग सहयोग लिएका छौँ भने बाँकी खर्च स्काउटले नै व्यहोरेका छौं । अहिले एउटा प्रदेश बराबर ६० देखि ६५ लाख रुपैयाँ खर्च भइरहेको छ । हरेक प्रदेशमा ५ देखि ६ दिनको आधारभूत तालिम दिइरहेका छौं ।
अहिलेसम्म कतिवटा प्रदेशमा तालिम सम्पन्न भयो ?
प्रदेश नम्वर १ र २ मा तालिम समापन भइसकेको छ । अहिले हामी ५ नम्बर प्रदेशमा तालिम दिइरहेका छौं । यहाँ सकेपछि ६ नम्बर र ७ नम्बर प्रदेशमध्ये कुनमा पहिले भन्ने यकिन भइसकेको छैन । चाँडै ६ नम्वर र ७ नम्वरमध्ये एउटामा तालिम सञ्चालन गर्नेछौँ ।































प्रतिक्रिया