लण्डन । बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेको औपचारिक निर्णय भएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरूको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो ।
ह्यारी दम्पत्तिले केही दिन अगाडि शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन बिताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए । शाही दरबारमा शनिबार बसेको बैठकले चरण चरणका छलफल र प्रयासहरूलाई आधार मानेर उनीहरूको घोषणालाई स्वीकृति दिने निर्णय गरेको हो । शाही दरबारको यो निर्णयसँगै उनीहरूकाे शाही उपाधि अन्त्य हुने सुनिश्चत भएको छ । तर आगामी वसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुने भएको छ ।
बेलायती महारानी एलिजावेथ द्वितीयका नाति ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनको शाही परिवारबाट बहिर्गमनको विषयलाई ह्यारीकी आमा स्वर्गीय डायनाको शाही परिवार परित्यागको विषयसँग जोडेर हेरिएको छ । “महिनौदेखिको कुराकानी, पछिल्ला धेरै छलफलहरूपछि रचनात्मक र सहयोगात्मक कामहरू गर्ने मेरो नाति र परिवारको निर्णयबाट म प्रसन्न छु,” ९३ वर्षीया महारानीबाट जारी वक्तव्यमा भनिएको छ ।
महारानीले भनेकी छन्, “ह्यारी, मेगन र उनीहरुका छोरा आर्ची सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन्, पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुपर्यो । म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु ।” दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम नपाउनेलगायतका घोषणा गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।
ह्यारी दम्पतीले राजपरिवारको भूमिका परित्याग गरेपछि बेलायत र उत्तर अमेरिकामा आफ्नो समय बिताउने बताएका छन् । केही समयको प्रेम सम्बन्धपछि उनीहरूले २०१८ मा विवाह गरेका हुन् । राजकुमार चार्ल्सका कान्छा छोरा ह्यारी अहिले ३५ वर्ष तथा उनकी श्रीमती मेगन ३८ वर्ष भएका छन् । राजकुमार ह्यारी बेलायती राजपरिवारको छैठौँ उत्तराधिकारी थिए। (रासस/एएफपी)































प्रतिक्रिया