युएईमा बस दुर्घटनामा परेर मृत्यु हुने तीन नेपालीको पहिचान खुलेको छ । बिहिबार बिहान साढे ५ बजे डिउटी जाने क्रममा २४ कामदार बोकेको बस दुर्घटना हुँदा ६ जना कामदारले ज्यान गुमाएका थिए । जसमा प्युठानकी भावना कुँवर, झापाकी कृष्ण कुमारी अधिकारी र ठेगाना नखुलेकी अमिसा मोक्तानको मृत्यु भएको र तीनजना अन्य देशका कामदार रहेको नेपाली दूतावास युएईले जनाएको छ ।
युएईको एमबीएमक क्लिनिङ कम्पनीमा कार्यरत कामदार बोकेको उक्त बिहिबार आबुधाविको अल रहा क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।२४ जना कामदार चढेको बसमा १७ जना नेपाली रहेका थिए । दुर्घटनामा घाईते भएका १४ नेपालीमध्ये सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा इलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै मकवानपुर टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्माको माफ्राक अस्पतालमा उपचार भइरहेको छ । चितवनकी निर्मला प्रजा सोहि अस्पतालमा सामान्य उपचारपछि कम्पनीको क्याम्पमा फर्केकी छन् ।
त्यसैगरी नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, हेटौडाकी मिना सिंहको अलराह अस्पतालमा उपचार हुँदैछ । घाइते मध्ये सरिता तामाङको अवस्था गम्भीर रहेको छ ।
घटना भएलगत्तै नेपाली दूतावास युएईका राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्कीलगायतका कर्मचारी घाइते उपचाररत अस्पताल पुगेका थिए । राजदूत ढकालले अस्पतालमा ट्रमा सेण्टरका डाक्टर तथा कम्पनीका प्रतिनिधिसँग भेटेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए ।





























प्रतिक्रिया