राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी सुरक्षित साथ सातवटै प्रदेशका निर्वाचन कार्यालयमा पु¥याइसकिएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने, ‘‘स्थानीय तहबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतदातालाई आउन गृह मन्त्रालयले सुरक्षा निकायको समन्वयमा सुरक्षित आउने र शान्तिपूर्ण रूपमा मतदान गराउने व्यवस्था मिलाइएको छ ।’’

मतपत्र छपाइ गरी प्रदेश १ को मोरङको विराटनगर, प्रदेश २ को धनुषा जिल्लाको जनकपुर, बाग्मती प्रदेशको ललितपुरको जावलाखेल, गण्डकी प्रदेशको कास्कीको पोखरा, प्रदेश ५ को दाङको घोराही, कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको सिलगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरिएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, प्रदेशसभा सदस्यले सेतो कागजमा हरियो रङको मसीले र स्थानीय तहका सदस्यले सेतो कागजमा रातो रङ्गको मसीले छापेको मतपत्रमा मतदान गर्ने छन् । मतदानका लागि ६ हजार २६० थान मतपत्र छपाइ गरिएको छ ।

मतभार ४८ र १८ हुने

राष्ट्रियसभा सङ्घीय संसद्को स्थायी सदन हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सम्बन्धित प्रदेशको प्रदेशका प्रदेश सभा सदस्य र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् । यी मतदातालाई राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचक मण्डल भनिन्छ ।

यो निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखको मतको भार फरक फरक हुन्छ । प्रदेश सभाका सदस्यको एक मत बराबर ४८ मतभार हुन्छ भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखको एक मत बराबर १८ मतभार हुन्छ ।

निर्वाचन प्रणाली

यो निर्वाचनमा प्रत्येक प्रदेशबाट महिला, दलित, अल्पसङ्ख्यक र अन्य समूहबाट निर्वाचित हुने सदस्यका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अपनाइन्छ । यस निर्वाचनका प्रदेशसभा सदस्य ५५० र स्थानीय तहका एक हजार ५०६ गरी दुई हजार ५६ जनाले मतदान गर्नेछन् ।
गोरखापत्रबाट

Logo