अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १ गतेदेखि, थपियो एनिमेसन र वृत्तचित्रको विधा (भिडियोसहित)

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १ गतेदेखि, थपियो एनिमेसन र वृत्तचित्रको विधा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) फागुनको १ गतेदेखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

आयोजकले बिहिबार काठमाडौंस्थित पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका साथै सांसद तथा गायिका कोमल ओली, कलाकार निर शाह, गौरी मल्ल, रेजिना उप्रेतीलगायतको उपस्थिती रहेको थियो । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको महोत्सव काठमाडौंको राष्ट्रिय सभागृह तथा पर्यटन बोर्डको सभाकक्षमा ५ दिनसम्म सञ्चालन हुनेछ ।

नेपाली चलचित्रको रचनात्मक विकासको उद्देश्यसहित हुन लागेको महोत्सव अपधिभर ८० चलचित्र प्रर्दशन हुनेछन् । जसमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड फिल्म रहेका छन् । ५५ देशबाट प्राप्त ६ सयभन्दा बढी चलचित्रबाट उत्कृष्ट ८० चलचित्र छानिएका छन् ।

विश्वका कथाहरुको तथ्य उत्सव नारासहित हुन लागेको महोत्सवमा विगतमा कथानक चलचित्र मात्र प्रस्तुत गरिएकोमा यो वर्ष एनिमेसन र वृत्तचित्रको विधा पनि थपिएको छ । महोत्सवमा कथानक चलचित्र, वृत्तचित्र तथा एनिमेटेड विधाका उत्कृष्ट चलचित्रलाई बेग्लाबेग्लै पुरस्कार प्रदान गरिनेछ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट कथानक फिल्मलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरसहित माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित वाग्मती अवार्ड प्रदान गरिने व्यवस्था गरिएको छ ।

फेस्टिभलमा प्रर्दशन हुनेमध्ये कथानक चलचित्रलाई बलिउड फिल्म निर्देशक प्रकाश झा नेतृत्वको निर्णयक मण्डलले मूल्यांकन गर्नेछ । यसमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्चुगिज फिल्ममेकर जाओ पाओलो र सिंगापुरका फिल्ममेकर युनी हाडी सदस्य रहनेछन् । वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रको मुल्याङ्कनका लागि श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुण नेतृत्वको समितिले गर्नेछ ।

नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ठ कथानक चलचित्रलाई १ लाख रुपैयाँसहितको पुरस्कार र उत्कृष्ठ लघु चलचित्रलाई ४० हजार रुपैयाँसहितको पुस्कार पनि प्रदान गरिनेछ । कथानक चलचित्रतर्फका उत्कृष्ठ निर्देशन, लेखन, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ । भिडियो :

 

Skip This
Skip This
Logo